राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ।
काठमाडौँ– मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६.४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ।
त्यस्तै, कोशीको १५.८, लुम्बिनीको १४.३, मधेसको १३.३, गण्डकीको ९.१ र सुदूरपश्चिम प्रदेशको ७.१ प्रतिशत योगदान रहने अनुमान गरिएको छ। जीडीपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब ४.३ प्रतिशत बराबर मात्रै रहने अनुमान तथ्यांक कार्यालयले गरेको छ।
कार्यालयका अनुसार गत आव २०७९/८० को संशोधित अनुमानबमोजिम कूल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा परिवर्तन भएको छ। “गत वर्षको तुलनामा कूल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ,” तथ्यांक कार्यालयले भनेको छ।
चालु आव २०८०/८१ मा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब पाँच अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। देशको शासन प्रणालीमा भएको परिवर्तन पछि प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक विभेदलाई न्यून गर्न आवश्यक नीति निर्माणका लागि तथ्यांक कार्यालयले यस्तो तथ्यांक सार्वजनिक गर्दै आएको छ।
अर्थतन्त्रको प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको छ। प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ।
चालु आवको प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा ४.५५ र लुम्बिनीमा ४.०५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ। त्यस्तै, कोशीको आर्थिक वृद्धिदर ३.५१, मधेसको ३.७८, बागमतीको ३.९६ र सुदूरपश्चिमको ४.४१ प्रतिशत रहने अनुमान गरिएको छ। सबैभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशमा ३.३९ प्रतिशत बराबर मात्रै हुने प्रारम्भिक अनुमान छ।
उपभोक्ताको मूल्यमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ।
तथ्यांक कार्यालयका अनुसार सबै प्रदेशमा आव २०७८/७९ को वृद्धिदरभन्दा आव २०७९/८० को वृद्धिदर कम देखिएको छ भने आव २०७९/८० को वृद्धिदरभन्दा आव २०८०/८१ को वृद्धिदर धेरै रहेको देखिएको छ।
कोशी प्रदेश कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब नौ खर्ब तीन अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब आठ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान गरिएको छ।
मधेश प्रदेशको चालु आवका लागि करिब सात खर्ब ४८ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब सात खर्ब तीन अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ।
तथ्यांक कार्यालयका अनुसार बागमती प्रदेशको जीडीपी चालु आवमा करिब २० खर्ब ७५ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ।
त्यसैगरी, गण्डकी प्रदेशको कूल गार्हस्थ्य उत्पादन चालु आवमा पाँच खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब चार खर्ब ८४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब आठ खर्ब १४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु सात खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ।
त्यस्तै, कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन चालु आवमा करिब दुई खर्ब ४४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब दुई खर्ब २९ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब चार खर्ब चार अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब तीन खर्ब ८१ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
