रोब पेजको नेतृत्वमा रहेको वेल्सलाई इंग्ल्यान्डविरुद्धको खेल जित्नैपर्ने दबाब मात्रै छैन, अमेरिका र इरानको खेलमा समेत निर्भर रहनुपर्ने अवस्था छ।
इंग्ल्यान्ड र वेल्स सन् १८७९ यता १०३ पटक फुटबलको मैदानमा आमनेसामने भइसकेका छन्। तर, विश्वकप मञ्चमा यी दुई टोली एकअर्कासँग भिड्न लागेको यो नै पहिलोपटक हो।
मंगलबार अहमद बिन अली स्टेडियममा हुने समूह ‘बी’ को अन्तिम खेल वेल्सका लागि फाइनल सरह नै हुनेछ।
रोब पेजको नेतृत्वमा रहेको वेल्सलाई इंग्ल्यान्डविरुद्धको खेल जित्नैपर्ने दबाब मात्रै छैन, अमेरिका र इरानको खेलमा पनि निर्भर हुनुपर्ने छ। पहिलो खेलमा अमेरिकासँग १-१ गोलको बराबरी खेलेको वेल्स दोस्रो खेलमा इरानसँग २-० गोलअन्तरले पराजित भएको थियो।
दुई खेल सकिँदासम्म अंक तालिकाको पुछारमा रहेको वेल्सलाई कम्तिमा इंग्ल्यान्डसँग शून्यका विरूद्ध चार गोलको फराकिलो जित निकाल्नै पर्ने दबाब पनि उत्तिकै छ।
त्यसैले समर्थकको मनमा अनैकौँ प्रश्न र खुलदुली छन्। के वेल्सले गतवर्षको युरोकप उपविजेतासँग फराकिलो जित निकाला त? अमेरिका र इरानले बराबरी खेल्लान् त? यदि समूह विजेता बनेर अन्तिम १६ मा पुगे वेल्सले सुधारिएको खेल प्रदर्शन गर्ला त?
पक्कै पनि ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सका लागि शुरूआती खेल सम्झनलायक रहेन। इरानविरूद्ध मैदानमा ११ जना खेलाडी उत्रिएका भएपनि वेल्सले गोलको अवसर सिर्जना गर्न त सकेन नै पाएको केही मौका पनि सदुपयोग गर्न सकेन। तर, बल पोसेसन ३८ प्रतिशत मात्रै राखेको इरान खेलमा हावी भयो र रुजबेह चेश्मी र रामिन रेजाइयनले गोल गर्दै जित दिलाए।
योसँगै वेल्सको जितविहीन यात्रा ७ पुगेको छ। र, मंगलबार इंग्ल्यान्डविरुद्ध मैदान उत्रिँदा वेल्स यो जितविहीन यात्रालाई टुंग्याउने लक्ष्यमा हुनेछ।
यदि मंगलबारको खेलमा तीन अंक लिन असफल भए वेल्सको यो नै इतिहासमा पहिलो जितबिना प्रतियोगिता सावित हुनेछ।
इंग्ल्यान्डका समर्थकले शुक्रबार वेल्सको पराजयको आनन्द उठाउन भ्याएका थिए। तर, केही घण्टापछि इंग्ल्यान्डले अमेरिकासँग १-१ गोलको बराबरी खेलेपछि माहोल बिग्रिन पुग्यो। पहिलो खेलमा इरानमाथि ६-१ को फराकिलो जित निकालेको इंग्ल्यान्डले दोस्रो खेलमा अमेरिकासँग अप्रत्याशित बराबरी खेलेपछि वेल्सका समर्थकलाई सैह्य भएन। डे लास अमेरिकान्सको सडकमै अचानक वेल्स र इंग्ल्यान्डका समर्थक एकआपसमा जाइलागे।
झडपमा कुर्सी प्रहार गर्नुका साथै मुक्का र किक हिर्काए। पहिलो खेलमा इरानमाथि ६-१ को सानदार जित निकालेपछि इंग्ल्यान्डले अमेरिकालाई पनि फराकिलो अन्तरले पराजित गर्ने अपेक्षा समर्थकले राखेका थिए। तर, खेलको नतिजा बराबरी आउँदा इंग्लिस समर्थक रिसाए।
सन् १९९६ मा पहिलोपटक विश्वकप जितेको इंग्ल्यान्डलाई अन्तिम १६ मा पुग्न वेल्ससँग बराबरी खेले नै प्रयाप्त हुनेछ। त्यसैले इंग्ल्यान्डका मुख्य प्रशिक्षक गारेथ साउथगेटलाई कुनै तनाव छैन।
यद्यपि उनी सजक भने अवश्य छन्। सन् २०१६ को युरोकप वेल्सले स्लोभाकिया र रसियालाई हराएको थियो भने इंग्ल्यान्डलाई २-१ गोलमा रोक्न सफल भएको थियो।
करिब ६ वर्ष अगाडि वेल्ससँग भिड्दा टोलीमा रहेका आधा दर्जनभन्दा बढी खेलाडी अहिले पनि इंग्ल्यान्डको टोलीबाट विश्वकप पनि खेलिरहेका छन्। इंग्ल्यान्डको टोलीमा ह्यारी केन, रहिम स्टर्लिङ, मार्कस रासफोर्ड, एरिक डियर, जोर्डन हेन्डरसन, जोन स्टोन्स र काइल वाकर गरी सात खेलाडी छन्, जसले युरोकपसमेत खेलेका थिए।
‘‘हामी एक ठूलो प्रतियोगितामा छौँ, सकेसम्म टाढा जान चाहन्छौँ। त्यसैले वेल्सविरुद्ध जित चाहेका छौँ”, मुख्य प्रशिक्षक साउथगेटको भनाइलाई उद्धृत गर्दै स्काई स्पोर्ट्सले लेखेको छ।
सन् २०१६ को युरोकपमा इंग्ल्यान्ड र वेल्सको खेलअघिको एक भिडियो भाइरल अहिले भाइरल भइरहेको छ। उक्त भिडियोमा आइसल्यान्डसँग इंग्ल्यान्ड पराजित भएपछि वेल्सका खेलाडीहरूले खुसी मनाउँदै गरेको देखिन्छ।
यद्यपि, टोलीका फरवार्ड मार्कस रासफोर्ड सन् २०१६ र अहिलेको खेलमा ठूलो भिन्नता रहेको बताउँछन्। ‘‘पूरै टोली परिवर्तन भएको छ। इंग्ल्यान्डको टोलीले लामो यात्रा तय गरेको छ”, उनी भन्छन्।
प्रशिक्षक साउथगेटले मंगलबारको खेलमा जेम्स म्याडिसनलाई मैदानमा उतार्न सक्छन्। उनी लामो समय घुँडाको चोटबाट गुज्रिरहेका थिए। तर, उपचारपश्चात् उनी मंगलबारको खेलमा मैदान उत्रिन तयार भइसकेका छन्।
यद्यपि, फिटनेशको समस्या भोगिरहेका बेन ह्वाइटले भने वेल्सविरुद्धको खेल गुमाउन सक्छन्। प्रशिक्षक साउथगेटको चिन्ता २०१८ को गोल्डेन बुट विजेता ह्यारी केनले गोल गर्न नसक्नु हो। यद्यपि, उनले अमेरिकाविरुद्धको उत्कृष्ट खेल खेलेका थिए। अर्कोतर्फ इरानविरुद्ध दुई गोल गरेका बुकायो साकाले अमेरिकाविरुद्ध आफ्नो लयलाई निरन्तरता दिन सकेनन्। यस्तो अवस्थामा साउथगेटले म्यानचेस्टर सिटीका युवा विङ्गर फिल फोडेनलाई मौका दिन सक्छन्।
इंग्ल्यान्ड समूह ‘बी’ को विजेताको रूपमा अघिल्लो चरणमा प्रवेश गरे उसले समूह ‘ए’ को उपविजेता खेल्नुपर्ने छ। उक्त समूहमा नेदरल्यान्ड्स, इक्वेडर र सेनेगल छन्। आयोजक कतार भने लगातार दुई खेलमा पराजित हुँदै एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ।
सन् १९५८ पछि पहिलोपटक विश्वकप खेलिरहेको वेल्स स्टार फरवार्ड ग्यारेथ बेलमा निर्भर छ। वेल्सले अन्तिमपटक सन् १९८४ मा इंग्ल्यान्डविरुद्ध जित हासिल गरेको थियो। त्यसयता भएको खेलमा वेल्सले कुनै जित निकाल्न सकेको छैन।
यद्यपि, वेल्सका डिफेन्डर क्रिस मेफाम आफ्नो टोली इंग्ल्यान्डलाई पराजित गर्न योग्य रहेको बताउँछन्। ‘‘पक्कै पनि हामी इंग्ल्यान्डलाई हराउन सक्छौँ। हामीले बारम्बार देखाएका छौँ’’, उनी भन्छन्, ‘‘वेल्सले इंग्ल्यान्डलाई कहिल्यै हराउन सक्दैन भन्ने कथ्यलाई हामी गलत साबित गर्नेछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
