राष्ट्रिय भूमि आयोग काठमाडौँका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुमबासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए।
काठमाडौँ– राष्ट्रिय भूमि आयोग, काठमाडौँले सुकुमबासीको उचित व्यवस्थापनबिना नै काठमाडौँ महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ। आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रूपमा अघि बढेको पाइएको बताएको हो।
राष्ट्रिय भूमि आयोग काठमाडौँका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुमबासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए। उनले आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहिता लागू भएकाले काम गर्न नपाएको बताए। उनले आयोगले लागत संकलन गरी वास्तविक सुकुमबासीको पहिचान नगरीकन महानगरले डोजर लिएर सुकुमबासी बस्ती भत्काउन जाने कुरा उचित नभएको बताए।
"हामीले महानगरसँग नै बैठक बस्ने भन्ने सोचेका थियौँ। महानगर एकतर्फी ढंगले अघि बढेको भन्ने जानकारी पायौँ। लागत संकलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचेर मात्रै अघि बढेको भए राम्रो हुन्थ्यो" उनले भने "एक जना पनि सुकुमबासी भूमिहीन हुन नपरोस् भन्ने हो। वार्ताबाहेकको अर्को विकल्प नै छैन।"
सुकुमबासीलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ। उनले सोमबार बिनाजानकारी महानगरपालिका डोजर लिएर सुकुमबासी बस्ती छिरेको भन्दै यस बस्तीमा त्रास पैदा भएको उल्लेख गरे।
अध्यक्ष प्रजापतिले सुकुमबासीका लागि इचंगुनारायणमा बनाइएको अपार्टमेन्टमा बस्नै नदिने त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने माग गरे। उक्त अपार्टमेन्टमा १३४ परिवार राख्ने कुरा रहेको भए पनि आयोगले लागत संकलन गरेपछि मात्रै यति नै सुकुमबासी छन् भन्ने यकिन हुने बताए।
यता सोमबारदेखि आन्दोलनरत थापाथली सुकुमबासी बस्तीका बासिन्दाले गरिबलाई देखाएर सधैँ सरकारले भीख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए। सुकुमबासी हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि पुनः सोही ठाउँमा बस्ने बताए। उनले बिनाविकल्प जबरजस्ती उठाउनु नहुने र सधैँका लागि सबै सुकुमबासीको समस्या समाधान हुनुपर्ने माग गरे।
"व्यवस्था गर सधैँका लागि, गरिबको बोल्दिने कोही छैन भनेर गाउने, गरिबका लागि बोल्छ भनेर पठाइयो, उल्टो भत्काउन आउने, सूचना नदिईकन," उनले काठमाडौँ महानगर प्रमुख बालेन शाहप्रति आक्रोश व्यक्त गरे।
सुकुमबासी बस्तीमा बुधबार पनि बस्ती भत्किने डरले अशान्ति छ। डोजर आतंक मच्चाएको भन्दै उनीहरू काठमाडौं महानगरको गेटमा प्रदर्शन र नाराबाजी गरेका थिए। उनीहरूले सुकुमबासी बस्ती प्रवेश गर्ने सबै सडक बन्द गराएका छन् भने सडकभर टायर र ढुंगा छरपस्ट देख्न सकिन्छ। एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो। सोहीअनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र तनावग्रस्त छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
