बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडा अध्यक्ष देवीजंग गुरुङ बताउँछन्।
गण्डकी– एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ। खोलेको तगारो नलगाएमा जरिबाना तिर्नुपर्छ। गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेस्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ। यो कास्कीको चिप्ली गाउँको अवस्था हो ।
तगाराको माथिपट्टि सानो सूचना पाटी राखिएको छ। सूचनामा लेखिएको छ, “सवारीचालकज्यूहरू, कृपया तगारो लगाउनुहोला। यदि तगारो नलगाएमा जरिबाना पाँच सय रुपैयाँ तिर्नुपर्नेछ। तपाईंलाई हेरालाले लुकेर हेरिरहनुभएको छ, धन्यवाद।”
सोही सूचना हेरेर सवारीचालकले पहिले आफ्नो सवारीसाधन रोक्छन्, तगारो खोल्छन्, सवारीसाधन छिराउँछन् र तगारो लगाएर गन्तव्यतिर लाग्छन्। मादी गाउँपालिका–६ स्थित चिप्ली हुँदै मादी–१ को पर्यटकीय गाउँ सिक्लेस जोड्ने सडकमा गाउँलेहरूले तगारो लगाउने गरेका हुन्।
बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेको मादी–१ सिक्लेसका वडा अध्यक्ष देवीजंग गुरुङ बताउँछन्। “चिप्ली, सिक्लेसलगायत यहाँका अरू गाउँमा पनि तगारो लगाउने चलन छ,” उनले भने, “चरनमा छाडिएका गाईबस्तु गाउँ छिर्नबाट रोक्न तगारो लगाइन्छ।”
सवारीसाधनको आवातजावतमा तगारोले समस्या उत्पन्न गरेकाले अर्को विकल्प खोज्नुपर्ने वडा अध्यक्ष गुरुङले बताए। एउटै गाउँमा दुई पटकसम्म सवारीसाधन रोक्दै तगारो हटाएर यात्रा गर्नुपर्दा झन्झट हुने गरेको सवारीचालक बताउँछन्।
“पर्यटकीय क्षेत्र पनि भएकाले सडकमा बाधा उत्पन्न हुँदा सकारात्मक सन्देश जाँदैन,” उनले भने, “तगारो लगाउनु स्थानीय बासिन्दाको बाध्यता भए पनि अब छुट्टै विकल्प खोज्नुपर्छ।”
चिप्लीको सिद्ध युवा क्लबका अध्यक्ष नारायण गुरुङले आफैँले पनि गाउँ आवतजावत गर्दा सास्ती खेप्नुपरेको बताए। “प्रवेशद्वार वा अन्य कुनै सजिलो विकल्प खोज्नुपर्छ, हामीले गाउँमा पनि यस विषयमा छलफल गरिरहेका छौँ,” उनले भने, “यसको समाधानका लागि वडा कार्यालयले केही पहल गरोस् भन्ने हाम्रो माग छ।”
पोखरा–सिक्लेस सडक स्तरोन्नतिसँगै सवारीसाधनको आवतजावत बढ्दै गएकाले तगारोले चालक र यात्रुलाई समस्या थपेको क्लबका अध्यक्ष गुरुङले बताए।
“एकातिर समय खेर जाने, अर्कोतिर सवारीचालकलाई दुःख र झन्झट भइरहेको छ,” उनले भने, “परम्परागत रूपमा गाउँमा तगारो लगाउने चलन सडक आएपछि उपयुक्त देखिएको छैन, यसले दुर्घटनाको जोखिम पनि बढाएको छ।” तगारो लगाउनु सडकको नियम विपरीतसमेत भएको उनको भनाइ छ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत काहुँखोला–सिक्लेस–दूधपोखरी सडकअन्तर्गत उक्त खण्ड पर्दछ। मादी–१ को कोरी र कपुचे तालको पदयात्रामा जाने पर्यटक पनि सोही सडक ओहोरदोहोर गर्छन्। विजयपुरखोलाबाट थाकसम्म १० किमी सडक कालोपत्र भएपछि सिक्लेस, चिप्लीलगायत मादीका पर्यटकीय गाउँको यात्रा थप सहज बनेको छ।
थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्रका लागि ग्रेड र सब–बेस मिलाउने काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ। वडा अध्यक्ष गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीय बासिन्दा र पर्यटकलाई सहजता थपिएको बताए।
“अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सक्छन्। कालोपत्र सडक सिक्लेससम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ,” उनले भने, “बाँकी सडक कालोपत्रका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ।” पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आर्थिकमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ।
प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको संगमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्याउने गरी चार वर्षअघि उक्त आयोजना शुरू गरेको थियो।
वडा अध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए। “सिक्लेस कास्कीकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्राउन सकिन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
