‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा ‘रेमल’ चक्रवातको प्रभावबाट कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ।

काठमाडौँ– नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहे तापनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ।

बंगालको खाडीमा विकसित भएको न्यून–चापीय प्रणाली यही १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातका रूपमा रहेको छ। उक्त चक्रवातको नाम ‘रेमल’ नामांकन गरिएको छ। उक्त चक्रवात भारतको पश्चिम बंगाल तथा बांग्लादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको देखिन्छ।

उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवात आइतबार राति बांग्लादेश र पश्चिम बंगाल आसपासको तटीय क्षेत्रमा प्रवेश गरेसँगै मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘रेमल’ चक्रवातको असरले कोशी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै, तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ। मधेश प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ। 

त्यस्तै, बागमतीको थोरै स्थान मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

गण्डकीको केही स्थान मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ।