दलहरूबीच सहमति, सदनको गतिरोध अन्त्य हुने

बानेश्वरस्थित संसद् भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस संसदीय दलको बसेको बैठकले दलबीच संसदीय समिति गठन गर्ने विषयमा भएको सहमतिलाई अनुमोदन गरेको हो। यससँगै सदनको गतिरोध अन्त्य हुने भएको छ। 

सदनमा भएका प्रमुख दलहरूबीच समिति गठन  गर्ने, समितिमा रहने सदस्यको संख्या, कार्यादेश र छानबिन गर्ने अवधिबारे समेत सहमति भएको कांग्रेस प्रमुख रमेश लेखकले जानकारी दिए। कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकोसमेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरी संसद् बैठक अवरुद्ध गर्दै आएको थियो।

समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले मंगलबार नै कार्यादेशलाई अन्तिम रूप दिनेछ। त्यस्तै अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समिति गठन गर्ने उनले बताए। त्यसअघि नै संघीय संसद् सचिवालयलाई समितिमा रहने आफ्नो पार्टीका तर्फबाट नाम दिने कांग्रेसले जनाएको छ। 

प्रमुख सचेतक लेखकले कार्यादेशमा व्यक्तिको नाम र पद लेख्नेभन्दा पनि सहकारीको नाम र अपचलन भएको सन्दर्भमा संलग्न जोसुकै व्यक्तिबारे अनुसन्धान हुने स्पष्ट पारे।