संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुति शुरू गरेका छन्।

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति शुरू गरेका छन्। 

यसअघि मंगलबार दिउँसो १ बजेका लागि निर्धारित संसद्को संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो। सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए। सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो। 

उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरूबीच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य भएको हो। यसअघि मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएको थियो। संयुक्त बैठकपछि मंगलबार नै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन्।