चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने

मंगलबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत पनि चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको छ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रोपटक संशोधन गरिएको छ। यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत आय र व्ययको अनुमान संशोधन गरिएकोमा मंगलबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत पनि चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै  चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब ३५ करोड रुपैयाँ अर्थात् विनियोजनको ८७.४ प्रतिशत हुने गरी संशोधित अनुमान जानकारी दिए। कुल सरकारी खर्चमध्ये चालु खर्च १० खर्ब ६७ अर्ब ४९ करोड रुपैयाँ अर्थात् विनियोजनको ९३.५ प्रतिशत, पुँजीगततर्फ दुई खर्ब १५ अर्ब ३० करोड रुपैयाँ अर्थात् यो शीर्षकमा विनियोजनको ७१.३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ अर्थात् विनियोजनको ८०.५ प्रतिशत खर्च हुने गरी संशोधित अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ बराबर राजस्व उठ्ने संशोधित अनुमान छ। यो शुरूआती लक्ष्यको तुलनामा ८८.१ प्रतिशत बराबर हो।

यसअघि सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै गत माघमा पहिलोपटक राजस्व र खर्चको अनुमान घटाएको थियो। चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा अर्द्धवार्षिक समीक्षामार्फत शुरू विनियोजनको ८७.३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको थियो।

अर्द्धवार्षिक समीक्षामार्फत शुरूआती विनियोजनको तुलनामा चालु शीर्षकमा ८८.८४, पुँजीगत शीर्षकमा ८४.१३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७.३९ प्रतिशत खर्च हुने गरी पहिलोपटक संशोधित अनुमान गरिएको थियो। 

चालु आर्थिक वर्षको चालु शीर्षकमा ११ अर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ बराबर विनियोजन भएको थियो।

अर्द्धवार्षिक समीक्षामार्फत आय र व्ययको अनुमान घटाएर चालुतर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ अर्थात् शुरूआती विनियोजनको ८८.२४ प्रतिशत, पुँजीगततर्फ दुई खर्ब ५४ अर्ब १३ करोड १९ लाख रुपैयाँ अर्थात् शुरूआती विनियोजनको ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ अर्थात् शुरूआती विनियोजनको ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो।