औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

सरकारले आगामी आर्थिक वर्षमा गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ। 

काठमाडौँ– सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ। 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानून निर्माण गरिने बताएका हुन्।

“औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानूनी व्यवस्था मिलाइने छ,” उनले भने।

सरकारले कृषि तथा पशुपक्षी मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ।

त्यसैगरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ। जसमा सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराइने बजेटमा उल्लेख छ। 

त्यस्तै, अर्थमन्त्री पुनले टिस्यु कल्चर प्रयोगशाला निर्माण गरी बिरुवा उत्पादन गरिने बताए। उनले फलफूल क्षेत्र विकासका लागि एक अर्ब ४४ करोड विनियोजन गरिएको जनाएका छन्।