अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ। 

काठमाडौँ– ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस बुधबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ। 

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ। 

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथामा पाइला राखेका थिए । सोही स्मरणमा नेपाल पर्वतारोहण संघ (एनएमए)को आयोजनामा प्रभातफेरी गरिएको हो।

प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायत पर्यटनसँग सम्बन्धित संघ संस्थाको सहभागिता थियो। सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् शुरूआत भएको थियो।

अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार प्रस्तुत २०८१/८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्थालाई सम्मान गरिने उल्लेख छ।