तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित होमस्टे, सडकको पहुँच, जडीबुटी तथा वन पैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको छ।
गलेश्वर– मालिका गाउँपालिका–४ का तिलबहादुर विकले १२ वर्षसम्म वैदेशिक रोजगारी गरेर गाउँ फर्केपछि दरबाङ बजारमा फर्निचर उद्योग सञ्चालन गरे। अहिले उनी खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँ बचत गर्दै आएका छन्।
सोही गाउँका तिलक गुरुङ पनि विदेश बसाइ अन्त्य गर्दै गाउँ फर्केपछि व्यावसायिक पशुपालन तथा तरकारीखेतीमा लागे। उनी हालै राष्ट्रिय कृषि पुरस्कारबाट सम्मानित भए। २३ वर्षदेखि पशुपालन र फलफूल खेती गरिरहेका उनी मासिक तीन लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँछन्। “वैदेशिक रोजगारी र विप्रेषणबाट गाउँ होइन, शहरलाई फाइदा पुग्छ,” उनले भने, “पशुपालन, तरकारी र फलफूलखेती ग्रामीण समृद्धिका मुख्य आधार हुन्। उद्यमशील युवाले नै गाउँलाई समृद्ध बनाउने हो।”
लाहुरेहरूको जिल्ला भनेर चिनिने म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि, पशुपालन तथा व्यवसाय सञ्चालन हुन थालेका छन्। जिल्लामा व्यावसायिक तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित होमस्टे, सडकको पहुँच, जडीबुटी तथा वन पैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको हो।
विक र गुरुङ यहाँका प्रतिनिधि पात्र मात्र हुन्। जिल्लामा २०० भन्दा बढी युवा कृषि तथा पशुपालनमा लागेर व्यवसाय गरिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। मौरीपालन, डेरी उद्योग, सिलाइकटाइ, गलैँचा उद्योग, माछापालन, टिमुर र आलुखेतीमार्फत यहाँका युवा आयआर्जनसँग जोडिएका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए। उनका अनुसार जिल्लाका केही व्यक्ति विदेश हुँदा सिकेको सीपमार्फत कृषि, पशुपालन र अन्य काम गरी सफल बन्दै गएका छन्।
जिल्लाका पर्यटकीय गाउँ शिख, घार, दाना, भुरुङतातोपानी, घोडेपानी कृषि गाउँ, बाबियाचौर, अर्मन, बरङ्जा, रत्नेचौर, ज्यामरुककोटका साथै वनपैदावार र जडीबुटीका लागि चर्चित गुर्जा, लुलाङ, मुदी, ताकम, घतान, पाखापानी, जलविद्युत् उत्पादनमा चिनिएका नारच्याङ, पिप्ले, भगवती, दग्नामलगायत गाउँमा पछिल्लो पाँच वर्षयता युवा उद्यमी र व्यवसायीको संख्यामा उल्लेख्य वृद्धि भएको थापाको भनाइ छ।
“ग्रामीण अर्थतन्त्र भनेकै कृषि, पशुपालन र साना उद्योग हुन्,” अर्थशास्त्रका जानकार विकल शर्मा भन्छन्, “यसको मद्दतमा जिल्लाको ग्रामीण समाजको आयआर्जन बढ्दै गएको छ।” ग्रामीण अर्थतन्त्रका आधारहरूलाई ग्रामीण भेगका युवाले बुझ्न थाल्नु सकारात्मक उपलब्धि भएको उनको भनाइ छ।
गाउँलेहरूले बिक्री गरेका वस्तुको आम्दानी बैंक तथा वित्तीय संस्थामा जम्मा हुने गरेको छ। युवा विदेश नगई स्वदेशमै आयआर्जनमा जोडिँदा ग्रामीण अर्थतन्त्र सबल बन्नाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
