विश्वप्रकाश शर्माले भने– गगन थापालाई प्रधानमन्त्री बनाउन अभियान शुरू गर्छु

काग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन अभियान चलाउने बताएका छन्। यसका लागि पार्टीभित्रका शीर्ष नेताहरू र सांसदसँग छलफल अगाडि बढाउने उनको भनाइ छ।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा झापा-१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरू गर्ने बताएका छन्। मंगलबार काठमाडौँस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले उनलाई प्रधानमन्त्री बनाउने अभियान शुरू गर्ने बताएका हुन्।

"प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने ढंगले अगाडि बढ्नुस् भन्नका लागि आएको हो। त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई शुरू गर्नलाई पनि म आएको हो," उनले भने।

झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सीधै थापानिवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना दिएका थिए।

उनले महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताए। उनले थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरू र सांसदहरूसँग छलफल अगाडि बढाउने बताए। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए।