जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको छ। जिल्लामा जेठ पहिलो सातादेखि असार दोस्रो सातासम्म मार्सीको रोपाइँ हुने गरेको छ।

फाइल तस्वीर।

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन्। 

तातोपानी गाउँपालिकाका स्थानी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ। केही समययता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका हुन्। 

मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ । मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेती बर्सेनि बढेको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ। विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन्। 

जिल्लाका प्रसिद्ध  चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए। पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँमा रोपाइँ हुन्थ्यो तर हाल त्यो प्रचलन हराउँदै गएको छ। चन्दननाथमा चढाउन पनि मार्सी धान रोप्ने गरिन्छ।

जिल्लाभर एक हजार २०० हेक्टरमा मार्सी धानखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ। सरकारले आगामी वर्षको बजेटमा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सी धान करिडोर विकासका लागि नयाँ परियोजना समेटेको छ।