बिरालोलाई मानार्थ विद्यावारिधिको उपाधि

म्याक्स नाम गरेको बिरालोलाई उसले क्याम्पसमा देखाउने मैत्रीपूर्ण व्यवहारका लागि सम्मान गर्न लागिएको हो।

कुनै व्यक्तिलाई उसको योगदानको आधारमा मानार्थ विद्यावारिधि (डक्टरेट)को उपाधि दिने गरिन्छ। तर, जनावरलाई पनि विद्यावारिधिको उपाधि प्रदान गरिएको सुन्दा भने अचम्म लाग्न सक्छ।

संयुक्त राज्य अमेरिकाको भर्मन्ट विश्वविद्यालयले गत हप्ता विद्यार्थीहरूको स्नातक हुनुअघि एक बिरालोलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको छ। म्याक्स नाम गरेको उक्त बिरालोलाई ‘डक्टर अफ लिटर–एचर’ को मानार्थ डिग्री प्रदान गरेको हो।

डेलीमेलका अनुसार म्याक्सले विद्यार्थी, शिक्षक र कर्मचारी सबैसँग मिलनसार व्यवहार गरेको भन्दै उक्त उपाधिले सम्मानित गरेको हो। भर्मन्ट विश्वविद्यालयको क्यासलटन क्याम्पसमा आउने जाने सबैसँग नजिकिन खोज्ने, खेल्न खोज्ने भएकाले म्याक्स सेलिब्रेटी बिरालोको नामले चिनिएको छ। 

बिरालोलाई उसको मुस्कान वा निदाउनको लागि नभएर उसले देखाउने मित्रताको लागि सम्मान गर्न लागेको क्यासलटन क्याम्पसले जनाएको छ।

विद्यावारिधिको घोषणा गर्ने पोस्टमा लेखिएको छ, ‘म्याक्स बिरालो क्यासलटन परिवारको वर्षौँदेखि मायालु सदस्य भएको छ।’ साथै उसलाई मानार्थ विद्यावारिधिले प्राप्त गर्ने सबै प्रकारका सेवा सुविधा दिइने पनि उल्लेख छ।

म्याक्स क्याम्पस नजिकैको घरमा एक परिवारसँग बस्दै आएको छ। म्याक्सको मालिक एस्ले डो हुन्। त्यही भएर बिरालोको नाम पनि म्याक्स डो राखिएको छ। 

"ऊ क्याम्पसमा जान्छ। त्यहाँ विद्यार्थीहरूसँग ह्याङआउट गर्न रुचाउँछ, र उनीहरूले उसलाई माया गर्छन्," डोले भनिन्, "ऊ लगभग चार वर्षदेखि क्याम्पसमा सामाजीकरण गर्दै छ, र विद्यार्थीरू उसलाई देख्दा उत्साहित हुन्छन्, बोक्छन् र सेल्फी खिच्छन्।" कहिलेकाहकीँ शैक्षिक भ्रमणमा समेत लिएर जाने गरेको उनले बताइन्।

विद्यार्थीहरूले डोलाई म्याक्सकी आमा भनेर सम्बोधन गर्छन्। शहरमा फर्केका स्नातकहरूले कहिलेकाहीँ उनलाई म्याक्सको हालखबर पनि सोध्ने गर्छन्।

यद्यपि, म्याक्सले स्नातक समारोहमा भने भाग नलिने तथा उनको डिग्री पछि डोलाई प्रदान गरिने क्याम्पसले जनाएको छ।