बाँकेमा गर्मीले पोलियोविरुद्धको खोप अभियान प्रभावित

बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए।

नेपालगन्ज– अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको छ। गर्मी र तातो हावा ‘लु’का कारण नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए। उनले यही जेठ १३ गतेबाट जिल्लाका ३५ हजार सात सय पाँच बालबालिकालाई आईपीभी खोप दिने लक्ष्यका साथ शुरू गरिएको अभियानअन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार ३३५ बालबालिकालाई खोप दिइसकिएको बताए। 

विद्यालय बन्द भएपछि विद्यालयमा स्थापना गरिएका खोप केन्द्रलाई समुदायमा स्थानान्तरण गरेर समुदायमा खोप दिन शुरू गरिएको थियो। खोप अभियान शुरू भएको तीन दिनमा आठ हजार ३७७ बालिका र आठ हजार नौ ५८ बालक गरेर १७ हजार ३३५ लाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ। सो कार्यालयका अनुसार हालसम्म लक्ष्यको करिब ४९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ। 

त्यसमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ६९ प्रतिशत र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा करिब ३८ प्रतिशतलाई खोप दिइएको श्रेष्ठको भनाइ छ। बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप दिने अभियान जिल्लाका आठ स्थानीय तहमा आइतबारबाट शुरू गरिएको थियो। खोप दिनका लागि जिल्लाभर २४३ खोप केन्द्र कायम गरिएको थियो। 

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ बाट जेठ २६ गतेसम्म सो अभियान सञ्चालन गरिने जनाइए पनि लक्षित सबै बालबालिकालाई खोप नदिएसम्म अभियान जारी रहने स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले बताए।