चोरीको उद्देश्यले विष्णुमायाको हत्या, ५ आरोपित सार्वजनिक

बिर्तामोड नगरपालिका–४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पक्राउ परे‍का पाँच जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

झापा– बिर्तामोड–४ कालिकानगरकी विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशीसहित पाँच जनालाई सार्वजनिक गरेको हो।

चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षीया विष्टको हत्या गरेको अनुसन्धानका क्रममा खुल्नमा आएको झापाका प्रहरी प्रमुख मिलन केसीले बताए। बिर्तामोड–४ का २२ वर्षीय राजवंशीले सोही स्थानका २३ वर्षीय महेश राजवंशीको सहयोगमा हत्या गरेको केसीले जानकारी दिए।

प्रहरीले चोरीको सामान लुकाउन भूमिका खेलेको अभियोगमा गंगाप्रसादकी श्रीमती वर्षा राजवंशी, चोरीको सामान बेच्न सघाउने सोही ठाउँमा ‘ज्याक’ भनिने भगीरथ माझी र चोरीको सामान खरिद गर्ने अर्जुनधारा–६ का हनुमान सुनचाँदी पसल सञ्चालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार गंगाप्रसाद र महेशले मिलेर चोरी गर्ने योजना बनाएर वैशाख २६ गते विष्टको घरमा गएका थिए। घरमा एक्लै रहेको समयमा चोर आएको जस्तो लाग्यो भनेर उनले काठमाडौँमा रहेका छोरालाई फोनमा जानकारी गराइन्। त्यसपछि उनका छोराले छिमेकीलाई घरमा जान भने। छिमेकी आएर होहल्ला गरेपछि  राजवंशीद्वय त्यहाँबाट भागेका थिए।

छिमेकीहरू आ–आफ्नो घर फर्किएपछि फेरि राजवंशीले त्यो घरमा चोरी गर्ने योजना बनाएको प्रहरीको भनाइ छ। नजिकै लुकेर बसेका उनीहरू घरको पर्खाल नाघेर भित्र पसे। चोरी गर्ने क्रममा विष्टले होहल्ला गर्न थालेपछि ताला फुटाउन ल्याएको रडले हिर्काएर उनको हत्या गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। विष्टको टाउकोमा गंगाप्रसादले तीन पटक रडले प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले विष्टको हत्या घटनालाई ‘अपरेसन ब्ल्याक ब्याग’ नाम दिएर अनुसन्धान शुरू गरेको थियो। प्रारम्भमा कुकुर ल्याएर अनुसन्धान गरेको भए पनि त्यो प्रभावकारी हुन सकेको थिएन।

घटनाका अभियुक्तको खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए। घटनाको सीआईबी, प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले संयुक्त अनुसन्धान गरेका थिए।

प्रहरीले उनीहरूको साथबाट ताला फुटाउन प्रयोग भएका फलामका उपकरण, सुनको औँठी, सुनको बाला, सुनको सिक्री, सुनको टप, सुनको जन्तर र चाँदीको कलश बरामद गरेको जनाएको छ। अभियुक्तहरूलाई हिरासतमा राख्न अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।