एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या कोषमार्फत समाधान गरिने

कानूनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्। 

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्। 

सिंहदरबारमा बिहीबार महिला तथा सामाजिक मामिला समितिमा एसिड आक्रमण पीडितको क्षतिपूर्ति सम्बन्धमा भएको छलफलमा उनले एसिड आक्रमणका घटना आफैमा संवेदनशील विषय भएकाले ढिला नगरी सरकारले क्षतिपूर्तिका लागि पहलकदमी लिने बताए। 

“हामीले कानूनी व्यवस्था पनि हेर्नुपर्छ। ८ वर्ष जेल भयो र क्षतिपूर्ति उपचार खर्च भराउने भनेको छ, क्षतिपूर्ति दिन्न भनेको अवस्थामा उसलाई थप सजाय अरू कसरी गर्ने त्यो कुराको पनि ऐनमा अन्योल छ भने त्यतातिर पनि हेर्नुपर्छ। अहिले क्षतिपूर्ति कोष छ। जसरी हुन्छ यो कोषबाट यसको समस्या तत्काल हल गर्नुपर्छ,” उनले भने, “यस्ता विषयमा ढिलाइ गर्न मिल्दैन। सरकारले तत्काल समाधान गर्नुपर्छ।”

उनले देशमा एसिड आक्रमण गर्ने पीडकलाई कारबाही गर्ने उचित कानूनसम्मको पनि प्रावधान नरहेको अवस्था रहेको बताए। एसिड आक्रमण पीडित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्ध्यवासिनी कंसाकार जस्ता हजारौँ पीडितको न्यायका लागि ऐनमा नै व्यवस्था गरेर जाने भन्दै मन्त्रिपरिषद्मा समेत यस विषयलाई गम्भीरताका साथ लाने प्रतिबद्धता उनले जनाए। 

“क्षतिपूर्तिका लागि जे जति सहमति चाहिन्छ अर्थ मन्त्रालयबाट सहमति मागेर फाइल फरवाडिङ गरिराखेको छु। यसलाई मन्त्रिपरिषद्मा पनि गम्भीरतासाथ लाने छु,” उनले भने।

त्यस्तै सांसद तथा एसिड आक्रमणपीडितकंसाकार ले अदालतले फैसला गरेको ११ वर्ष पुगे पनि क्षतिपूर्ति सरकारले नदिएको बताइन्। अदालतले गर्ने निर्णयमा किन यस्तो हुन्छ भन्दै उनले मन्त्री गिरीलाई प्रश्न गरिन्। ११ वर्षमा आफूले शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा आफ्नो पीडा भोगिरहँदा पनि हाँसी–हाँसी हिँडिरहेको बताउँदै अब राज्यले मेरो लागि के गर्छ भन्दै थप प्रश्न गरिन्। 

उनले आफू भाग्यले प्रतिनिधिसभाको सदस्य हुन पाएको भन्दै यदि आफूले न्याय पाएमा अरू एसिड आक्रमण पीडितहरूका लागि आफूले लड्ने प्रतिबद्धता जनाइन्।