तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी विधेयक संसद्‍मा पेस गर्न स्वीकृति

सरकारले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ।

काठमाडौँ– सरकारले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन्।

“नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने निर्णय भएको छ,” उनले भनिन्।

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ ३१ गते स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन र सोपश्चात् संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने पनि निर्णय गरेको छ।