वर्षकै सबैभन्दा बढी गर्मी नेपालगन्जमा, तापक्रम ४४.२ डिग्री मापन

मौसमविद् गोविन्द झाले बिहीबार साँझ प्राप्त अभिलेखमा नेपालगन्जको तापक्रम ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए।

काठमाडौँ– नेपालगन्जमा बिहीबार अधिकतम तापक्रम ४४.२ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगन्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए। उनका अनुसार बिहीबार दिउँसो धनगढीमा ४४.१ डिग्री तापक्रम रेकर्ड भएको थियो। त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो। यसअघि अघिल्लो महिनामा भैरहवामा ४३.६ डिग्री रेकर्ड भएको थियो। बिहीबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४०.२ डिग्री तापक्रम अभिलेख भएको छ। 

काठमाडौँ र पोखरामासमेत तापक्रम बढिरहेको छ। पोखरामा ३४ र काठमाडौँमा ३४.४ डिग्री तापक्रम मापन गरिएको छ। अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ। हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ।