प्यालेस्टिनी राज्यलाई मान्यता दिने विषयमा स्लोभेनियाको संसद्‌मा मतदान हुने

सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले गाजामा चाँडोभन्दा चाँडो युद्ध समाप्त गर्ने प्रयासअन्तर्गत प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन्। ती दलसँग संसद्को कुल ९० मध्ये ५१ सिट छ। 

स्पेन, आयरल्यान्ड र नर्वेले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको केही दिनपछि स्लोभेनियाका सांसदले पनि उक्त विषयमा मतदान गर्ने भएको छ। मतदानका लागि आगामी जुन ४ मा संसद्‌ बैठक बोलाइएको सभामुख उर्स्का क्लाकोकर जुपान्सिकले बताए। 

सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले गाजामा युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्ने प्रयासअन्तर्गत प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन्। ती दलसँग संसद्को कुल ९० मध्ये ५१ सिट छ। 

स्पेन, आयरल्यान्ड र नर्वेले यसै साता प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन्। यसबाट राष्ट्र संघका १९३ सदस्य मुलुकमध्ये प्यालेस्टिनी राज्यलाई मान्यता दिने मुलुकको संख्या १४५ पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। 

यसअघि बिहीबार स्लोभेनियाको केन्द्र–वामपन्थी सरकारले प्यालेस्टिनी राज्यलाई मान्यता दिने आदेश संसदीय अनुमोदनका लागि पठाएको थियो। यसबाट जुनको मध्यसम्ममा समाप्त हुने प्रक्रियामा तीव्रता आएको छ। 

“यो शान्तिको सन्देश हो, हामी विश्वास गर्छौं कि अहिले सम्पूर्ण विश्वले मध्यपूर्वमा शान्ति ल्याउने समाधानतर्फको प्रयासमा सहभागी हुने समय आएको छ,” प्रधानमन्त्री रोबर्ट गोलोबले बिहीबार भने। 

स्लोभेनियाले सन् १९६७ को राष्ट्र संघीय प्रस्ताव वा दुवै पक्षले गरेको भविष्यको शान्ति सम्झौताअनुसार निर्धारित क्षेत्रभित्र प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ। 

अप्रिलमा डेनभनिक दैनिकले ६०० मानिसमा गरेको सर्वेक्षणअनुसार करिब ६० प्रतिशत स्लोभेनियालीले प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन् भने २० प्रतिशतले यसको विरोध गर्छन्। 

कन्जरभेटिभ विपक्षी स्लोभेनियाई डेमोक्रेटिक पार्टी (एसडीएस) ले मान्यताको विरोध गर्दै स्लोभेनियाले ईयुका बहुमत मुलुकसँग रहनुपर्ने बताएको छ।