संसदीय समितिबाट अभिलेख संरक्षण विधेयक

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सर्वसम्मत रूपमा पारित गरेको छ।

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ पारित गरेको छ। 

शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७७ सर्वसम्मत रूपमा पारित गरेको हो। 

राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा समितिमा छलफल गरेर पारित गरिएको हो। 

उक्त विधेयकमा राष्ट्रिय महत्त्वका कागजात देशबाहिर लैजान नपाउने,  त्यस्ता कागजात देशबाहिर लानुपर्ने अवस्थामा मन्त्रिपरिषद्को स्वीकृत लिनुपर्ने लगायतका व्यवस्थाहरू रहेका छन्। 

उक्त विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेश हुनेछ। प्रतिनिधिसभाबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लगिनेछ।

प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेको खण्डमा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानूनमा रूपान्तरित भएर कार्यान्वयनमा आउने प्रावधान रहेको छ।