सांसदले कृषिका ८० प्रतिशत रैथानी बीउ हराइसकेकाले त्यसको खोजी गरी संरक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
काठमाडौँ– कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको शुक्रबारको बैठकमा सांसद बेदुराम भुसालले बीमाको दायरा विस्तार गरी रकमसमेत बढाइनुपर्नेमा जोड दिए। बीमाको अनुदान रकम घटाएर भए पनि दायरा बढाइनुपर्ने उनको माग थियो।
सांसद नारायणदत्त मिश्रले कृषिका ८० प्रतिशत रैथानी बीउ हराइसकेकाले त्यसको खोजी गरी संरक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। कृषिको धेरै अनुदान बिचौलियाको हातमा गएकाले त्यसको अनुसन्धान गरिनुपर्ने उनको माग थियो।
सांसद भगवती न्यौपानेले देशलाई ६२ लाख मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा ५२ लाख मेट्रिकटन मात्र उत्पादन हुने गरेकाले त्यसलाई बढाउन आवश्यक कार्यक्रम अघि बढाउनुपर्ने बताइन्।
यस्तै, सांसद विष्णुदेवी पुडासैनीले माटोको उर्वराशक्ति बिग्रन थालेकाले माटोको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औँल्याइन्। कृषिसँग सम्बन्धित निकायले वितरण गरेका धानकै बीउमा बाला नलाग्ने समस्या देखिएकाले त्यसको समाधान गरिनुपर्नेमा पनि उनले जोड दिइन्।
सांसद देवेन्द्र दाहालले उत्पादन भएका अनाजको समयमै समर्थन मूल्य तोकिनुपर्ने बताए। सांसद तुलसाकुमारी दाहालले आगामी आर्थिक वर्षको बजेटमा आलु प्याज आयातमा कर छुट दिएपछि स्वदेशमा हुने उत्पादनले बजार नपाउने समस्या बढेको बताइन्।
बैठकमा सांसद मृगेन्द्रकुमार सिंह यादवले ६५ प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेको देशमा कृषि क्षेत्रलाई दिनुपर्ने जति बजेट नदिँदा समस्या भएको बताए। नेपाल कृषि अनुसन्धान परिषद्ले बन्देज लगाएका बीउ जनकपुरको बोर्डर क्षेत्रमा बिक्री वितरण भइरहेकाले रोक लगाउन उनले माग गरे।
समिति सभापति जयन्तीदेवी राईले किसानका बीचमा पुगेर खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० तयार पारिएको जानकारी दिइन्। प्रतिवेदनका विषयमा कृषिसँगै वन र भूमि सुधार मन्त्रालयका अधिकारीलाई पनि राखेर समितिले छलफल गर्ने तयारी गरेको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले हालसम्म १७ लाख हाराहारीमा किसान सूचीकरण भएका जानकारी दिए। कृषि सूचना तथा तालिम केन्द्रबाट किसान सूचीकरण भइरहेको उनले सुनाए। खरालले खाद्य ऐनको व्यवस्थाअनुसार खाद्य संकटमा परेकाहरूको पनि सूचीकरण गर्ने व्यवस्था गर्ने तयारी भइरहेको जानकारी गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
