पर्यटन विकास आयोजनाका कर्मचारी घुससहित पक्राउ

अख्तियारले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ।

निर्माण सम्पन्नपश्चात् अन्तिम बील भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरूलाई कार्यकक्षबाटै शुक्रबार पक्राउ गरेको हो।

आयोगको टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका–३१ अन्तर्गत विकास आयोजनाबाट १७ हजार घुससहित पक्राउ गरेको हो। आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।