मनसुन ११ दिनपछि भित्रिने पूर्वानुमान

मनसुन बांग्लादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको र नेपालमा प्रवेश गर्न अझै ११ दिन लाग्ने विभागको पूर्वानुमान छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बांग्लादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ।

नेपालको पूर्वी भूभागमा मनुसन आइपुग्न अझै ११ दिन लाग्ने विभागको पूर्वानुमान छ। विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै भनेको छ, “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ। नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ।”

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ।