यार्सा संकलनमा गएका २ जनाको लेक लागेर मृत्यु, १ को अवस्था गम्भीर

मुगुमा यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ।

मुगु– यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ। लेक लागेर छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका सोभान बुढाको मृत्यु भएको हो।

पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएको थियो। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा संकलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएका बताए। सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगु पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गरिएको उनको भनाइ छ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा संकलन गर्न मुगूम कार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको छ।