मुगुमा यार्सा संकलनका क्रममा मृत्यु हुनेको संख्या ४ पुग्यो, १ जना गम्भीर

मुगुमकार्मारोङ गाउँपालिकाले २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न वैशाख २५ गते  प्रवेश खुला गरेको थियो। 

मुगु– बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका मुगुका चार जनाको मृत्यु भएको छ। उनीहरूको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

लेक लागेर सिकिस्त भएका एक जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एक जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। 

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको मृत्यु भएको हो। मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढीतर्फ ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको हो। यससँगै मृत्यु हुनेको संख्या चार पुगेको छ।

शनिबार नै पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा तथा कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो। 

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गते  प्रवेश खुला गरेको छ।