वीरगन्ज औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सुधार गरिँदै

वीरगन्जसहित बारा-पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति गर्न चालु प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ।

काठमाडौँ– औद्योगिक नगरी वीरगन्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण शुरू गरेको छ। 

औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई उच्च क्षमताको विद्युतीय संरचना आवश्यक परेको हो। वीरगन्जसहित बारा-पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति गर्न चालु प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उच्च क्षमताका केही प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित छन्। 

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरणका पूर्वाधार क्रमिक रूपमा बनाउन लागेको हो।

प्राधिकरणले बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राख्ने काम अन्तिम चरणमा पुर्‍याएको छ। डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो ‘कन्डक्टर’ निकाली उच्च क्षमता (एचटीएलएस) राख्ने काम भइरहेको छ। एउटा सर्किटको काम सकिएपछि सञ्चालन गरी दोस्रो सर्किटको काम हुनेछ। प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने गरी काम भइरहेको छ। पथलैया (पिलुवा)-परवानीपुर प्रसारण लाइनबाट करिब २०० मेगावाट प्रवाह गर्न सकिनेमा ‘कन्डक्टर’ बदलेपछि क्षमता दोब्बर हुने जनाइएको छ।

हेटौँडा–पथलैया (पिलुवा) १३२ केभी प्रसारण लाइनको पनि ‘कन्डक्टर’ बदलेर क्षमता दोब्बर बनाइसकिएको छ। “प्रसारण लाइनको क्षमता स्तरोन्नतिको कामका लागि एउटा सर्किट बन्द गर्नुपर्दा वीरगन्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या भएको गुनासो आइरहेको छ,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “पथलैयाबाट थप विद्युत् पठाउन नसक्दा भारतको रक्सौलबाट विद्युत् आयात गरिरहनु परेको छ। त्यसैले यस्तो संवेदनशील अवस्थामा गम्भीर भएर तोकिएकै समय अघि काम सक्नुपर्छ।

घिसिङले अब पथलैया–परवानीपुर प्रसारण लाइनको क्षमता हालकोभन्दा दोब्बर हुने भएकाले त्यस क्षेत्रमा खपत गरी बाँकी विद्युत् रक्सौलतर्फ निर्यात गर्न सकिने जानकारी दिए। वीरगन्ज क्षेत्रका उद्योगले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन रहेको उनले उल्लेख गरे।  

त्यस क्षेत्रका उद्योगलाई लक्षित गरी बाराको प्रसौनी र वीरगन्जमा १३२ केभीका दुईवटा सबस्टेसन निर्माणाधीन छन्। विद्युत्‌को बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ। पोखरियामा सबस्टेसन निर्माणाधीन छ। परवानीपुरदेखि पोखरियासम्म करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको छ। 

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई रमौली हुँदै पोखरिया पुर्‍याउने गरी अर्को आयोजना शुरू गरिएको छ। प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुनेछ। 

निजगढ, रमौली र पोखरियामा ४०० केभीका तीनवटा सबस्टेसन निर्माण गरिने छन्। निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ। प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा छ। 

निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने छ। निजगढ-रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिनेछ। रमौली–पोखरिया २७ किलोमिटर प्रसारण लाइन र पोखरिया सबस्टेसनको लगानी स्रोत जुटिसकेको छैन।