१ महिनामा ९० हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

काठमाडौँ– सन् २०२४ को मेमा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मेमा जम्मा ९० हजार २११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ को मेमा ७७ हजार ७०३ विदेशी पर्यटक नेपाल आएका थिए। 

कोभिड–१९ महामारीपूर्व ७८ हजार ३०० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। 

“समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मक रूपमा भारत र अमेरिकाबाट धेरै संख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रूपमा पर्यटक बढेका छैनन्,” उनले भने।

विगतका महिनामा झैँ यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन्। सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट आठ हजार ३८१ जना पर्यटक नेपाल आएका छन्। संयुक्त राज्य अमेरिकाबाट आठ हजार ५२७ पर्यटक नेपाल भित्रिएका छन्।