दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ३१ करोडको कारोबार

आइतबार मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक १३.५१ अंक बढेर दुई हजार ८३.०४ को बिन्दुमा कायम भएको हो।

३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ६५ हजार ६५४ पटक खरिद बिक्री हुँदा चार अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा लगानी समूह ०.२३, उत्पादन तथा प्रशोधन २.४० र म्युचुअल फन्ड ०.०५ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै व्यापार समूहको ६.५६ र वित्त समूहको उपसूचक २.१७ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ १.११, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.४६ र जलविद्युत् १.२६ प्रतिशतले बढेको छ। जीवन बीमा समूह ०.७७, लघुवित्त समूह ०.५२ र अन्य समूह ०.९६ प्रतिशतले बढेको छ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २२ करोड ६४ लाख १३ हजार २८ रुपैयाँ बराबरको तीन लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ।