जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला सुनाउने मिति तय

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा निर्णय सुनाउने मिति तय गरेको छ।

काठमाडौँ– सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा निर्णय सुनाउने मिति तय गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले असार २१ भित्र बहस नोट पेश गर्न र साउन १३ गते फैसला हुने आदेश गरेको हो। सर्वोच्च अदालतमा २०६९ फागुनमा दर्ता भएको मुद्दामा आगामी साउन १३ गते निर्णय सुनाउन लागिएको हो।

गैरकानूनी रूपमा सम्पत्ति आर्जनको आरोपमा जोशीविरुद्ध २०६० पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जोशीविरुद्ध तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गरी मुद्दा दायर भएको थियो।

साथै, जोशीले आर्जन गरेको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा उनका परिवारका सदस्यविरुद्ध पनि मुद्दा चलाइएको थियो। तर २०६३ कात्तिकमा विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो। त्यसपछि आयोगले सर्वोच्च अदालतमा रिट दिएको थियो। सर्वोच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नहुने भनेपछि पुनः विशेष अदालतमा जोशीविरुद्धको मुद्दा अगाडि बढेको थियो।

विशेषले २०६९ साउनमा जोशीलाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेको थियो। विशेषले जोशीले आर्जन गरेको दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ गैरकानूनी ठहर गर्दै त्यो रकम जफत र त्यति नै रकमबराबर जरिबाना हुने फैसला गरेका थियो। विशेषको फैसलापछि जोशी सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए।