मानव तस्करीको आशंकामा १ व्यक्ति प्रहरीको नियन्त्रणमा

मुगु र हुम्लाका २८ बालबालिकालाई लिएर काठमाडौँ आउँदै गरेका एक व्यक्तिलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतीकात्मक तस्वीर

मुगु– सुर्खेत प्रहरीले मानव तस्करीमा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बालबालिकालाई लिएर काठमाडौँ आउँदै गरेका नाम्गेल छिरिङलाई सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट नियन्त्रणमा लिएको हो।  

कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौँ ल्याउँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनको साथमा १६ जना बालिका र १२ जना बालक रहेको प्रहरीले जनाएको छ। उनीसँग बौद्धलगायत उपत्यकामा रहेका गुम्बामा ती बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिन लैजान लागेको कागजात रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण साहीले बताए। 

प्रहरीसमक्ष छिरिङले परिवारको सहमतिमै ती बालबालिकालाई काठमाडौँ लैजान लागेको बताएका छन्। “बालबालिकाकालाई बौद्ध लगायतका काठमाडौँका गुम्बामा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ती व्यक्तिले देखाएको कागजमा उल्लेख छ,” डीएसपी साहीले भने, “तर हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौँ।”

हालसम्मको अनुसन्धानका क्रममा मानव बेचबिखनभन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाइफकाइ गरी ती बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौँ लैजान लागिएको खुल्न आएको डीएसपी साहीले जानकारी दिए। तर घटना शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको भनाइ उनको छ।

उनका अनुसार हुम्ला र मुगुका २८ जना बालबालिकालाई परिवारका सदस्यकै सहमतिमा पठाइएको र दुईबाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन छिरिङसँग रहेको छ। “उनीहरूलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यले सहमतिमै पठाएको भन्दै लगातार फोन गरिरहेका छन्,” उनले भने, “तर हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौँ।”

प्रहरीले ती बालबालिका मुगु र हुम्लाका भए पनि कुन स्थानीय तहका भनेर खुलाएको छैन। प्रहरीले उद्धार गरिएका २८ जना बालबालिकालाई सुर्खेतकै आवाज भन्ने संस्थामा राखेको जनाएको छ।