शेयर बजारमा सामान्य सुधार, कारोबार रकम बढ्यो

मंगलबार शेयर बजारमा चार अर्ब आठ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ– मंगलबार शेयर बजार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। मंगलबार ६.२२ अंकले बढ्दा बजार परिसूचक नेप्से २०८५.३० को विन्दुमा उक्लिएको हो।

मंगलबार ८३ लाख पाँच हजार ७८६ कित्ता शेयर किनबेच हुँदा चार अर्ब आठ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ। आठ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। 

साताको पहिलो दिन बढेको शेयर बजार दोस्रो दिन घटेको थियो। सोमबार बजार ३.९७ अंकले घट्दै २०७९.०७ विन्दुमा रहँदा ८८ लाख २० हजार १२५ कित्ता शेयर चार अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको थियो।

यसअघि आइतबार नेप्से परिसूचक १३.५१ अंकको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६ कित्ता शेयर चार अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो। 

मंगलबार १३ मध्ये जलविद्युत्, म्युचुअल फन्ड र अन्य उपसमूहबाहेक सबै बढेका छन्। व्यापार उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ। लघुवित्त उपसमूह १.४८ प्रतिशतले बढ्दा ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ता बढी फाइदामा रहे।

उक्त कम्पनीको शेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। यस्तै, नारायणी विकास बैंक, महुली लघुवित्त, हिमालयन लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत् शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा छन्।

सर्वाधिक कारोबार हुनेमा सीईडीबी हाइड्रोपावर छ। उक्त कम्पनीको २० करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यस्तै, नेपाल फाइनान्सको १२ करोड ९८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८२ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख र ग्लोबल आईएमई लघुवित्तको १० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ।