नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा २ शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगले मंगलबार दाङको कौवाघारी, गलटाकुरीस्थित प्राथमिक विद्यालयका तत्कालीन शिक्षक भीमकुमार डीसी र महोत्तरीको बलवा नगरपालिका–९, धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत राहत शिक्षक अशोककुमार साहविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो। डीसी र साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा डीसीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पाइएको आयोगले जनाएको छ। अनुसन्धानबाट नक्कली प्रमाणपत्र पेश गरी सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको दाबी गर्दै अख्तियारले सोही ऐनको दफा १६(१) बमोजिम सजाय मागदाबी लिई आरोप पत्र दायर गरेको हो। स्थायी शिक्षकका रूपमा २०५० असार १ गतेबाट सेवा प्रवेश गरेका डीसी प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश लिइसकेका छन्।

त्यस्तै, शिक्षक साहले पनि कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा बिहारबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उनले २०६९ कात्तिक २५ गतेदेखि राहत कोटाबाट शिक्षक पदमा नियुक्ति लिएका थिए। सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको आयोगको दाबी छ। आयोगले उनीविरुद्ध सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना सजाय मागदाबी लिई आरोप–पत्र दायर गरेको छ।