‘ब्यान्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन समितिले बुझायो प्रतिवेदन

प्रतिवेदन बुझ्दै मन्त्री शर्माले समितिले दिएका सुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताइन्।

काठमाडौँ– नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेश गरेको छ।

मंगलबार प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथको व्यवस्थापन महत्त्वपूर्ण भए पनि यससम्बन्धी आवश्यक अध्ययन नभएकाले अध्ययन समिति गठन गरेको बताइन्। उनले समितिले दिएका सुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताइन्।

“समितिले प्रतिवेदनमार्फत दिएका सुझावका आधारमा तत्काल गर्न सकिने कामका लागि प्रक्रिया अघि बढाउन र कानून बनाएर कार्यान्वयन गर्नुपर्ने विषयमा सोहीअनुसार आवश्यक कार्य अगाडि बढाइने छ,” मन्त्री शर्माले भनिन्। 

मन्त्री शर्माले २०८० फागुन २३ गते दोस्रो पटक पदबहाली गरेपछि नेपालमा ब्यान्डविथ प्लेटफर्मको सम्भावना अध्ययन गर्न मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा समिति गठन गरेकी थिइन्।

समितिले दूरसञ्चार ऐन, २०५३ र नियमावली, २०५४ बमोजिम एउटै व्यक्ति/संस्थाले नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायक दुवैको अनुमतिपत्र लिने गरेका कारण दुवैलाई फरक–फरक बनाइ प्रतिस्पर्धा गर्ने वातावरण बनाउन कठिनाइ रहेकालगायत सुझाव पेश गरेको छ।