केराको थामबाट फाइबर, धागो र कम्पोस्ट मल बनाएर आयआर्जन

बेनी–२ खबराका २५ जनाले थामबाट रेसा निकालेर फाइबर धागो बनाउने र कम्पोस्ट मल बनाउने सीप सिकेका छन्। सोही वडाको भकुन्डेमा सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ। 

बेनी– म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोस्ट मल तयार गरिएको छ। केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर आयआर्जनको माध्यम बनाइएको हो। 

बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोस्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन्।

खबराका २५ जनाले थामबाट रेसा निकालेर फाइबर धागो बनाउने र कम्पोस्ट मल बनाउने सीप सिकेका छन्। सोही वडाको भकुन्डेमा केराको थामबाट रेसा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ। 

खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताए। अनुसार तालिममा केराको थामबाट रेसा निकालेर फाइबर, धागो तयार गर्न र रेसा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोस्ट मल तयार गर्ने विधि पनि सिकाइएको छ। 

केराको रेसाबाट पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रूपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताए। “हामीले यसअघि केराका कोसा मात्रै बिक्री गर्थ्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ,” उनले भने।

तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायत सामान उत्पादन गर्न सम्भव भएको राष्ट्रिय युवा परिषद्का सदस्य सन्दीप सापकोटाले बताए।