चाबहिलमा श्रीमती र ३ छोरी जलाएर आफूलाई पनि लगाए आगो, २ जना गम्भीर

चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले मंगलबार बेलुका श्रीमती र तीन छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैँलाई पनि आगो लगाएका छन्। 

काठमाडौँ– काठमाडौँको चाबहिलमा एक पुरुषले श्रीमतीसहित तीन छोरीलाई मट्टितेल खन्याएर आगो लगाएका छन्। 

चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले मंगलबार बेलुका श्रीमती बिनु सिंह र छोरीहरू २४ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ७ वर्षीया सुहाना सिंहलाई आगो लगाएको प्रहरी सहायक हवलदार धनबहादुर टमाटाले जानकारी दिए। टमाटाका अनुसार बेलुका रक्सीले मातेका चञ्चलबहादुरले त्यसपछि आफैँलाई पनि आगो लगाएका थिए।  

उनीहरूलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न लगिएको छ। घाइतेमध्ये दुई छोरीको अवस्था गम्भीर रहेको अस्पतालमा कार्यरत पदमशोभा महर्जनले जानकारी दिइन्।

“दुई जना छोरीको शरीरको अधिकांश भाग जलेको छ। उनीहरूको अवस्था गम्भीर छ,” उनले भनिन्, “बाँकी तीन जनाको ८ देखि १० प्रतिशत शरीर जलेको छ।”

सुप्रिया र समृद्धिको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।