मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले शुक्रबारसम्म नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। 

जनकपुर– मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। 

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको उल्लेख गरे। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आफ्नो दाबी पेस गर्न अनुरोध गरिएको हो।