सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

“संसारका पर्यटक सगरमाथा घुम्न आउँछन्। तर एक मात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ। विमानस्थल विस्तार गर्न गत वर्षको बजेटले ध्यान दिन सकेन। सगरमाथा क्षेत्रको विकासका लागि थप काम गर्नुपर्छ,” उनले भने।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले दूधकोशी नदीबाट थप विद्युत् उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद रुपा सोशी चौधरीले संसद‍्बाट कानून निर्माण प्रक्रियामा लक्ष्य प्राप्ति हुन नसकेको बताउँदै यसमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन्। सांसद निशा डाँगीले सीमित बजेटको आकार भए पनि असीमित योजना घोषणा गरिरहेको सन्दर्भमा स्रोतको सुनिश्चितता नगरी ठूला योजना घोषणा नगर्न सुझाव दिइन्। 

सांसद अनिशा नेपालीले स्थानीय सडक राष्ट्रिय राजमार्गसँग जोड्ने भनेर पटक–पटक बजेट छुटाइने गरेको तर कार्यान्वयन ढिलाइ हुने गरेको उल्लेख गरिन्।