‘केही नेपाल ऐन संशोधन विधेयक’का सम्बन्धमा १० मन्त्रालयबीच छलफल

कानूनमन्त्री पदम गिरीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’का सम्बन्धमा १० वटा मन्त्रालयसँग सम्बन्धित विषयमा समितिमा सहमति जुटिनसकेकाले छलफल थालिएको बताए।

काठमाडौँ– ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा रहेका प्रावधानहरूलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ। यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक बसेको हो।

कानूनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विषयमा समितिमा सहमति जुटिनसकेकाले छलफल थालिएको बताए। 

“हामी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौँ। जुनजुन मन्त्रालयसँग सम्बन्धित विषयमा सहमति जुट्न सकेको छैन त्यस सम्बन्धमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूहरू र प्रतिनिधिहरूलाई बोलाएर छलफल गरिरहेको छौँ,” उनले भने, “१० वटा मन्त्रालयसँग सम्बन्धित विषयमा समितिमा सहमति जुटिनसकेको हुनाले हामी मन्त्रालयसँग बसेर छलफल गरिरहेका हौँ।” 

विधेयकलाई टुंगोमा पुर्‍याउने गरी काममा जुटेको उनको भनाइ छ। छलफलमा कानूनमन्त्रीसहित, सञ्चारमन्त्री रेखा शर्मा, ऊर्जा शक्तिबहादुर बस्नेत, श्रमन्त्री डोलप्रसाद अर्याललगायतको उपस्थिति रहेको छ।