टीकापुरको मुक्तकमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँगै कामका लागि इँटाभट्टामा जाँदा उनीहरूको पढाइ प्रभावित भइरहेको बताए।
कैलाली– कैलालीको टीकापुरस्थित शक्तिदेवी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रविका चौधरी बुवाआमासँगै इँटाभट्टामा जान्छिन्। आठ वर्षीया रविकाले बुवाआमाले इँटाभट्टामा काम गरिरहँदा दुई वर्षीय भाइ स्याहार्छिन्। उनले गत वर्ष सात महिना इँट्टाभट्टामा बसेकाले परीक्षा नै दिन पाइनन्।
अहिले पनि रविका कक्षा २ मा अध्ययन गरिरहेकी छन्। उनले अब तीन महिना मात्र विद्यालयमा पढ्न पाउँछिन्। “इँट्टाभट्टामा काम गर्ने अभिभावकका बालबालिका जेठमा विद्यालय आउँछन्। त्यसपछि केही दिन बर्खे बिदा हुन्छ,” अभिभावक मिना चौधरीले भनिन्, “त्यसपछि दशैँ बिदा हुन्छ। दशैँ मनाएर अभिभावकसँगै बालबालिका इँट्टाभट्टामा जान्छन्। त्यहाँ पढ्ने वातावरण नै हुँदैन।” इँट्टाभट्टामा काम गर्नु अभिभावकको बाध्यता रहेको उनको भनाइ छ।
बालबालिकाको जीविकोपार्जन गर्न टीकापुरका सयौँ अभिभावकले इँट्टाभट्टामा काम गर्छन्। बुबाआमा दुवै इँट्टाभट्टामा गएपछि बालबालिका पनि सँगै जान्छन्। टीकापुरको विजयनगर बस्तीकी हिमानी थारूका दम्पती लामो समयदेखि इँट्टाभट्टामा काम गर्दै आएका छन्। हरेक वर्ष सात महिना इँट्टाभट्टामा बस्ने उनीहरूको बाध्यता हो। काम गर्दा दुई बालबालिका पनि सँगै लैजान्छन्। घरमा बच्चा स्याहार्ने मानिस नभएकाले बालबालिकासँगै लैजानुपर्ने बाध्यता रहेको हिमानीको भनाइ छ।
इँट्टाभट्टामा लैजाँदा बच्चाको पढाइ बिग्रन थालेको उनले बताइन्। “बच्चा पढाउने मन त छ तर के गर्नु बाध्यताले मिल्दैन,” उनले भनिन्, “बच्चाको भविष्य बिग्रेको थाहा हुँदाहुँदै पनि गरिबीले केही गर्न सकिएको छैन।”
शक्तिदेवी आधारभूत विद्यालयका शिक्षक कल्पना खड्काले विद्यालयमा ३० देखि ४० जना बालबालिका अभिभावकसँगै इँट्टाभट्टामा जाने गरेकाले पढाइ प्रभावित हुँदै गएको बताइन्। “आमाबुबाले आफूसँगै बच्चा लैजान्छन्, यसरी गएका बालबालिका कोही पछि परीक्षा दिन आउँछन्, कोही आउँदैनन्,” उनले भनिन्, “असोजदेखि जेठसम्म बालबालिका दुई–तीन महिना मात्रै पढेको कुरा बिर्सन्छन्। अनि वर्षौँसम्म एउटै कक्षामा दोहोरिएर पढ्ने गरेका छन्।”
टीकापुरको मुक्त कमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँगै काममा जाँदा उनीहरू पढाइमा असर पर्ने गरेको बताए। “बालबालिका आमाबुबासँगै जाने, ठूला बच्चाले साना बच्चा स्याहार्ने वा बुबाआमाको काममा सघाउने गर्छन्”, उनले भने, “बालबालिकाको पढाइ प्रभावित भएकाले सिकाइ सुधार गर्न थप कक्षा सञ्चालनको पहल थालेका छौँ। एउटा संस्थासँग सहकार्य गरेर थप कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ। यस्ता बालबालिकाको शिक्षामा पालिकाले पनि ध्यान दिनुपर्छ।”
१५१ विद्यार्थी रहेको मुक्त कमैया विद्यालयमा ४० भन्दा बढी बालबालिकाको पढाइ अनियमित हुने गरेको ढकालको भनाइ छ। “बालबालिकाले पढ्न पाउनु उनीहरूको नैसर्गिक अधिकार भए पनि गरिबीका कारण अभिभावकले पढाइमा ध्यान दिन सकिरहेका छैनन्”, उनले भने।
टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले टीकापुरमा यस्तो समस्या देखिएकाले केही वर्षदेखि यसलाई रोक्ने प्रयास भइरहेको बताए। “अभिभावकलाई सचेत गर्ने र बालबालिकालाई विद्यालय पठाउँदा बालश्रम रोकिन्छ भनेर जानकारी दिने काम गरिरहेका छौँ। दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने अभिभावकका लागि अभिभावक शिक्षा, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेका छन्,” उनले भने, “बालबालिकाले इँट्टाभट्टामा काम गर्न या अभिभावकसँगै जानु नपरोस् भनी प्रयास गरिरहेका छौँ, हालसम्म रोक्न भने सकिएको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
