सुरक्षण मुद्रण विधेयक प्रतिनिधिसभाबाट पारित

मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताइन्।

काठमाडौँ– प्रतिनिधिसभाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ। बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताइन्।

“ती विषयहरूलाई स्वदेशमै छपाइ गर्न सकियो भने हाम्रा सुरक्षाको दृष्टिकोणले र वैदेशिक मुद्रा बाहिरिने कारणले पनि यो ठिक हुन्छ र बाहिरिँदै आएको मुद्रालाई स्वदेशभित्रै राख्न सकिन्छ भनेर नै विधेयक ल्याइएको हो। यो विधेयकमा छलफल हुँदै गर्दा केही विषय थपिएका छन्” उनले भनिन्। 

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल र रामकृष्ण यादवले भाग लिएका थिए। 

‘विनियोजन विधेयक’ स्वीकृत
त्यस्तै, बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। बैठकमा उक्त प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका थिए। यसअघि बैठकमा अर्थमन्त्री पुनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकमा २०८१/८२ को सेवा र कार्यको लागि संघीय सञ्चित कोष रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न संसद्समक्ष पेश गर्नुपरेको बताए।

उनले सञ्चित कोषबाट चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थासमेत गरी १४ खर्ब ५७ अर्ब चार करोड ९६ लाख रुपैयाँ खर्च गर्न प्रस्ताव गरिएको उल्लेख गरे।

“अधिकांश विषयवस्तु साबिकको अनुरूप नै आएका छन्, तर केही नयाँ विषय हामी त्यसमा समावेश गरेका छौँ,” उनले भने। मन्त्री पुनले विधेयकले विषयगत मन्त्रालयलाई बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू दयालबहादुर शाही, राजनकुमार केसी, हितराज पाण्डे र प्रेम सुवालले भाग लिएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते आइतबार बिहान ११ बजे बस्नेछ।