मोदीले तेस्रो कार्यकालका लागि जुन ९ मा शपथ लिने सम्भावना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि जुन ९ मा शपथ लिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तस्वीर : मनी शर्मा/एएफपी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि जुन ९ मा शपथ लिने सम्भावना रहेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जुन ४ मा घोषित लोकसभा निर्वाचनको नतिजामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत हासिल गरेको छ। स्रोतका अनुसार प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोह जुन ९ को साँझ ६ बजे हुने अनुमान गरिएको छ।

यसअघि प्रधानमन्त्री मोदीको नेतृत्वमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह शनिबार हुने अनुमान गरिएको थियो। शपथ ग्रहण समारोहको मितिबारे अहिलेसम्म आधिकारिक पुष्टि नभएको समाचारमा जनाइएको छ।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका दलका नेताहरूले बुधबार बैठक गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो नेताका रूपमा चुनेका छन्। पछि प्रधानमन्त्री मोदीले विकसित भारत निर्माणका लागि एनडीएले काम गर्ने बताए।

“हाम्रा मूल्यवान् एनडीए साझेदारसँग भेटवार्ता भएको छ। हाम्रो गठबन्धनले राष्ट्रिय प्रगतिलाई अगाडि बढाउने छ र क्षेत्रीय आकांक्षा पूरा गर्नेछ,” मोदीले बुधबार एक्समा पोस्ट गर्दै भनेका छन्, “हामी भारतका एक अर्ब ४० करोड जनताको सेवा र विकसित भारत निर्माण गर्ने दिशामा काम गर्नेछौँ।”

छिमेकी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देश नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बांग्लादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरेका छन्।

प्रधानमन्त्री दाहाल र हसिना दुवैले यसअघि भारतीय प्रधानमन्त्री मोदीलाई १८औँ लोकसभा निर्वाचनमा एनडीएको विजय प्रदर्शनका लागि बधाई दिएका थिए।

मोदी र दाहालसँग फोनमा शुभकामना प्रदान तथा शपथ ग्रहणमा निमन्त्रणाको कुरा भएको एक अधिकारीले बताए।  कुराकानीमा शपथ ग्रहण समारोहमा सहभागिताको पुष्टि गरेको तथा औपचारिक घोषणा चाँडै गरिने जनाइएको छ। 

बांग्लादेशकी प्रधानमन्त्री हसिनाका राजनीतिक सहयोगी एम नजरुल इस्लामले प्रधानमन्त्री हसिना प्रधानमन्त्री मोदीबाट निमन्त्रणा प्राप्त गरेपछि शपथ ग्रहण समारोहमा भाग लिने कार्यक्रम तय भइसकेको बताएका छन्।

हसिना शनिबार दिउँसो विशेष उडानमा ढाकाबाट प्रस्थान गरी जुन ९ को दिउँसोसम्म राजधानी दिल्लीमा रहने स्रोतले जनाएको छ।

समारोहको साइडलाइनमा द्विपक्षीय बैठकको सम्भावनाबारेमा सोधिएको प्रश्नमा इस्लामले बैठकको पुष्टि हुन नसकेको बताए।

हसिनाले भर्खरै बांग्लादेशको राष्ट्रिय चुनावमा विजय प्राप्त गरेपछि  बांग्लादेश र भारतबीचको बलियो सम्बन्धलाई जोड दिइन्।

सन् २०२४ को लोकसभा चुनावको मतगणना मंगलबार सम्पन्न भएको थियो। भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन सन् २०१९ को ३०३ सिटभन्दा निकै कम हो र यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ।

अर्कोतर्फ, मुख्य विपक्षी कांग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसद्मा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ। रासस/एएनआई