प्रधानमन्त्री दाहाल मोदीको शपथ समारोहमा सहभागी हुने, ११ देशका राजदूतलाई फिर्ता बोलाइयो

मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ भने प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्। सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री दाहालले आगामी शनिबारदेखि गर्ने भारतको दुईदिने भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत प्राप्त गरेको छ। एनडीएले प्रधानमन्त्रीमा मोदीलाई अगाडि सारेको छ।

भाजपा नेता मोदीले भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथ ग्रहण गर्दैछन्। आइतबार साँझ हुने उक्त समारोहका लागि आएको निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जान लागेका हुन्।

११ देशका राजदूत फिर्ता
त्यस्तै, मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्री शर्माका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतबाट ज्ञानचन्द्र आचार्य, स्पेनबाट शर्मिला पराजुली ढकाल, डेनमार्कबाट राम राय, अमेरिकाबाट प्रा. श्रीधर खत्री, इजरायलबाट कान्ता रिजाललाई फिर्ता बोलाइएको हो।

यस्तै, दक्षिण कोरियाबाट प्राडा. ज्योति प्याकुरेल भण्डारी, साउदी अरबबाट नवराज सुवेदी, कतारबाट नरेश विक्रम ढकाल र मलेसियाबाट डिल्लीराज पौडेललाई पनि फिर्ता बोलाउने निर्णय सरकारले गरेको छ।

यी राजदूतहरू कांग्रेस सहितको सत्ता गठबन्धनका बेला नियुक्त भएका थिए। सत्ता समीकरण फेरिएसँगै माओवादी, एमाले, रास्वपा र जसपा गठबन्धनले नयाँ नियुक्तिका लागि राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।