मनसुनमा कोशी र मधेश बढी प्रभावित हुने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सबैभन्दा बढी कोशी, त्यसपछि मधेश र तेस्रोमा लुम्बिनी प्रदेश प्रभावित हुने अनुमान छ।

काठमाडौँ– यस वर्षको मनसुनमा कोशी र मधेश प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो। तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा एक लाख १३ हजार परिवारका झन्डै पाँच लाख मानिस विपद्बाट कुनै न कुनै रूपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए।

बढी पानी पनि सोही क्षेत्रमा पर्ने र बाढीपहिरो तथा डुबानका घटना हुन सक्ने अनुमान गरिएको उनले बताए। कोशीमा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा पाँच हजार परिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ।

त्यसपछि मधेश प्रदेशमा ९८ हजार घरपरिवारका चार लाख ३० हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ। कुल २० हजार प्रत्यक्ष प्रभावित हुने तथा चार हजार घरपरिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आकलन छ। 

तेस्रोमा लुम्बिनी प्रदेशका ७७ हजार घरका तीन लाख ३६ हजार ५५८ व्यक्ति प्रभावित हुने अनुमान छ। उक्त प्रदेशमा १५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने र तीन हजारलाई उद्धार र राहतको आवश्यकता पर्न सक्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।

बागमती प्रदेशमा ३३ हजार ३७१ घर परिवारका एक लाख ४६ हजार, गण्डकी प्रदेशका २५ हजार घर परिवारका एक लाख १० हजार ५५४, कर्णाली प्रदेशमा ११ हजार ५४८ घर परिवारका ५० हजार ४६४ मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा ५३ हजार घर परिवारका दुई लाख ३३ हजार १९० व्यक्ति कुनै न कुनै रूपमा विपद्बाट प्रभावित हुने र त्यसमध्ये पाँच हजार घर परिवार प्रत्यक्ष प्रभावित भई एक हजार पाँच सय घरलाई प्रत्यक्ष राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान छ।

विभिन्न विश्लेषणका आधारमा उक्त अनुमान गरी सोही अनुसार प्रतिकार्यका लागि राष्ट्रिय योजना बनाएर विपद् व्यवस्थापनको पूर्वतयारी गरिरहेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए।

यसपटक सरकारले गृह मन्त्रालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरी विपद् व्यवस्थापन कार्य अघि बढाएको छ। विपद् क्षेत्रमा आधा घण्टामा टोली पुग्ने गरी तयारी गरिएको गृह मन्त्रालयले जनाइसकेको छ।

‘मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाऔँ’
त्यस्तै, गृह मन्त्रालयले आयोजना गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँगको अन्तरक्रिया’मा विभिन्न राजनीतिक दलका विपद्सम्बन्धी विभागका प्रमुख तथा प्रतिनिधिले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए। सहभागी दलका नेताहरूले विगतका विपद्का घटनाबाट पाठ सिक्दै पूर्वतयारी र प्रतिकार्य अघि बढाउन सुझाव दिएका हुन्।

विपद्का घटनामा सरकारसँग सहकार्य गर्न आफ्ना पार्टीका जनसंगठन तम्तयार अवस्थामा रहेकाले  सरकार, राजनीतिक दल र स्थानीय नागरिकको सामूहिक प्रयत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा उनीहरूले राखेका हुन्। विपद्को अवस्थामा राजनीतिक दलले सरकारलाई स्वयंसेवी जनशक्ति उपलब्ध गराउने र त्यस्ता जनशक्तिलाई सरकारको संयोजनमा प्रभावित क्षेत्रमा खटाउन उपयुक्त हुने सहभागीको सुझाव थियो।

दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै तल्लोस्तरसम्म संरचना भएका दलहरूलाई परिचालन गर्न ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिए। नेकपा एकीकृत समाजवादीका नेता एवं विपद् जानकार डा गंगालाल तुलाधरले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले विपद्को अवस्थामा राजनीतिक पार्टीको सक्रिय सहभागिताको अपेक्षा गरेको जानकारी गराउँदै विपद् पूर्वतयारी र प्रतिकार्यमा खट्नु दलहरूको कर्तव्य भएको बताए।

उक्त ऐनको दफा २० को (ठ) र (ड) मा विपद् जोखिम न्यूनीकरण शिक्षा अभियान सञ्चालन गरी पूर्वतयारीमा सहयोग पुर्‍याउने तथा राष्ट्रिय विपत्तिको समयमा खोज, उद्धार, सहयोग, पुनर्स्थापनालगायत अन्य आवश्यक सहयोग गर्ने उल्लेख छ।

गृह मन्त्रालयमा बिहीबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरू। तस्वीर : रत्न श्रेष्ठ/रासस

नेता तुलाधरले सबै राजनीतिक दलले केन्द्रीय तहमा विपद् विभाग बनाएर अघि बढ्नुपर्ने तथा विपद्का समयमा सबै संरचनालाई प्रतिकार्यमा खटाउनुपर्ने बताए। उनले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरू एकजुट हुनुपर्ने र परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए।

“विपद्मा दलहरूको भूमिकाका बारेमा गृह मन्त्रालयले ‘कार्यढाँचा’ बनाउनु उपयुक्त हुन्छ,” उनले भने, “राजनीतिक दललाई अभिमुखीकरण गर्नुपर्छ।” उनले आफ्नो पार्टीले विपद्को पूर्वतयारी र प्रतिकार्यमा  सबै राजनीतिक दलसँग समन्वय गरेर खट्न निर्देशन दिइसकेको जानकारी दिए। 

नेकपा एमालेका विपद् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलले राजनीतिक दलभित्र सबैभन्दा पछाडि रहेको विपद्सम्बन्धी विभागको भूमिका अब परिवर्तन गरेर अघि बढ्ने प्रयास गरिएको बताए। “अब विगतजस्तो अवस्था रहेन, एमालेले पार्टीको केन्द्रसँगै प्रदेश, जिल्ला र पालिका तहमा पनि विपद् विभाग गठनको तयारी गरेको छ,” उनले भने।

एमालेले पार्टीको तल्लो कमिटीका प्रतिनिधिको सहभागितामा राष्ट्रिय विपद् व्यवस्थापन तथा स्वयम् सेवा मेला आयोजना गर्न लागेको जानकारी दिँदै उनले विपद्को पूर्वतयारी र प्रतिकार्यमा राज्यसँग हातेमालो गरी अघि बढिने प्रतिबद्धता व्यक्त गरे। “राजनीतिक दलले मानवीय जनशक्ति उपलब्ध गराउने हो”, नेता पौडेलले भने, “तर राज्यले पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्छ, दलका जनशक्ति र सरकारको स्रोतसाधनलाई संयोजन गर्न सक्दा प्रतिकार्य प्रभावकारी हुन्छ ।”

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विपद्मा राजनीतिक दलका नेता तथा कार्यकर्ताले व्यवस्थित ढङ्गबाट काम गर्दा पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे। उनले विपद्बाट नागरिकको जीउधनको तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएको उल्लेख गर्दै विपद्का समयमा खटिइने जनशक्तिलाई प्रोत्साहन स्वरूप बीमा र भत्तालगायत सुविधा व्यवस्थापन गर्न सुझाव दिए।

नेकपा माओवादी केन्द्रका विपद् व्यवस्थापन विभाग इन्चार्ज सूर्य सुवेदीले विपद्का समयमा सरकारका संयन्त्र र राजनीतिक दलको संगठनबीच समन्वय हुँदा प्रभावकारी काम गर्न सकिने बताए। “सबै राजनीतिक दलका विपद् सम्बन्धी काम गर्ने विभागको प्रतिनिधि सम्मिलित ‘डेस्क’ बनाऔँ, यसलाई पालिका तहसम्म लैजाऔँ”, उनले भने।

जनमत पार्टीका नेता अब्दुल खानले विपद्का अवस्थामा खट्न आफ्नो पार्टीमा समाज कल्याण विभाग क्रियाशील रहेको र नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा पार्टीबाट नेता कार्यकर्तालाई खटाइने बताए। उनले दीर्घकालीन रूपमा जोखिम न्यूनीकरण र प्रतिकार्यमा जुट्न राजनीतिक दलको सामूहिक प्रतिबद्धताको खाँचो औँल्याए।

छलफलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता रामप्रकाश चौधरी, जनता समाजवादी पार्टी नेपालका नेता परशुराम बस्नेत, राप्रपाका नेता ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जन, नागरिक उन्मुक्ति पार्टीका नेता राजन गुरुङ र आम जनता पार्टीका कार्यालय सचिव रञ्जुकुमारी साहले विपद् पूर्वतयारी र प्रतिकार्यमा आआफ्नो पार्टीबाट सक्रिय सहभागिताका लागि निर्देशन गरिने प्रतिबद्धता व्यक्त गरे।

विपद् व्यवस्थापनमा दलको प्रभावकारी भूमिकाको अपेक्षा
छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक तथा प्राकृतिक संकटमा एकजुट हुने नेपालका दलको अभ्यास सकारात्मक रहेको बताए। उनले जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयं सेवक परिचालनको अनुभवका आधारमा विपद् व्यवस्थापनमा दलको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्।

दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिनुभएको सुझाव मनन गर्दै उपप्रधानमन्त्री लामिछानेले तीनै तहको सरकारबीच समन्वय गराउन ‘लुज फोरम’ प्रभावकारी हुने बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् ‘पोर्टल’बाट चौबिसै घण्टा बाढी, पहिरो, चट्याङसम्बन्धी घटनाको जानकारी प्रवाह गरिएको तथा विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए।