पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने स्थानीयको भनाइ छ।

खोटाङ– पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गर्न थालिएको छ। मुहान सुक्न थालेपछि संरक्षण गर्न डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण शुरू गरेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुंगा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताए। 

“मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ। वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम थालेका हौँ,” उनले भने, “रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डीसीआरएल)ले सहकार्य गरेको छ। पोखरी असार मसान्तभित्र सम्पन्न हुन्छ।” 

जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन्। डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी दुई लाख ५० हजार तथा डीसीआरएलले निर्माण गर्ने पोखरीका लागि दुई लाख ३५ हजार बजेट विनियोजन भएको छ।

रिचार्ज पोखरीले  मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा आफूहरू विश्वस्त रहेको दिक्तेल रुपाकोट मझुवागढी–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताए। 

डिभिजन वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरेको थियो। पोखरी निर्माणले पर्यावरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य राजेन्द्र राईले बताए।