काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा. पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजा पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिए।
काठमाडौँ– नीति निर्माता तथा विज्ञ गाँजाखेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन्।आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजाखेतीबारे शुक्रबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएको थियो। उक्त छलफलमा सहभागीले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए।
बजेटमा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने’ विषयमा समितिले छलफल चलाएको थियो। अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुतिमा गाँजाबाट निर्मित ब्याग बोकेको प्रसंग उठाउँदै भने, “गाँजा उत्पादन जताततै छ। मैले बोकेको ब्यागको पनि चर्चा भयो। यसका उत्पादन प्रयोग भई नै रहेका छन्। यसको प्रयोगबाट कुलतमा फसेका पनि छन्। सचेत भएर गाँजालाई वैधानिकता दिने गरी कानूनी व्यवस्था गर्नुपर्छ। फेरि व्यवस्थित गर्न नसके ठूलै प्रकोप निम्तिन्छ।”
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले कुन भौगोलिक क्षेत्रमा कस्तो गाँजाखेती गर्ने भन्नेबारेमा अध्ययन भइरहेको बताए। “यससम्बन्धी अध्ययन भइरहेको छ। छिट्टै प्रतिवेदन सार्वजनिक हुन्छ। गाँजाखेतीको सम्भावना छ तर यसले सामाजिक परिवेशमा पार्ने प्रभाव र बजारको पनि अध्ययन हुनुपर्छ,” उनले भने।
कृषि मन्त्रालयका सचिव डा दीपककुमार खरालले गाँजाको व्यावसायिक खेतीको सम्भाव्यता अध्ययन गर्न लागुऔषध (नियन्त्रण) ऐन, २०३३ संशोधन हुनुपर्ने धारणा राखे। “कानूनी सहजीकरण नभएसम्म हुँदैन। बाँझो जमिनमा यसको खेती गर्न सकिन्छ। खेतीसम्बन्धी बोर्ड नै गठन गरेर जान सकिन्छ,” डा. खरालले भने।
पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजाको व्यावसायिक खेतीमा किसानकेन्द्रित बनाउनुपर्ने बताए। “खेतीका लागि कुनै व्यक्ति वा संस्थालाई नभई किसानलाई नै प्रोत्साहन गर्नुपर्छ। गाँजाले अर्थतन्त्रमा योगदान दिन सक्छ,” मन्त्री तामाङले भने।
स्वास्थ्य सेवा विभागअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. प्रदीप केसीले गाँजाका बारेमा आयुर्वेदमा थुप्रै अध्ययन भइसकेको भन्दै औषधीय गुणको चर्चा गरे। मानसिक अस्पतालका डा. अनन्त अधिकारीले गाँजाको औषधीय गुण भए पनि यसले नकारात्मक असरसमेत पार्न सक्दै भन्दै सचेत रहन आग्रह गरे।
काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा. पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजा पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिए। “अनुसन्धानमा दुखाइ कम गर्ने, छारे रोग, डिप्रेसन, एन्जाइटी, क्यान्सर थेरापीलगायतमा गाँजाको उपयोग हुने देखिएको छ। गाँजामा औषधीय गुणसँगै यसको रेसाबाट लुगा, कस्मेटिक, खाद्यपदार्थमा पनि प्रयोग हुन्छ,” उनले भने। उनले किसानलाई लक्षित गरेर गाँजाखेतीका लागि अन्तर्राष्ट्रिय मापदण्डसँग मिल्ने गरी उत्पादनमा जोड दिनुपर्ने बताए।
उपयुक्त कानून निर्माण गर्नुपर्ने, निगरानी तथा नियमनमा जोड दिनुपर्ने, खेतीका लागि वास्तविक किसानलाई प्रोत्साहन गर्नुपर्नेलगायत विषयमा केन्द्रित बैठकमा सांसदले प्राथमिकतामा राखेर विधेयक छिटो ल्याउनुपर्ने बताए। बैठकमा गाँजाखेतीको औषधि प्रयोजनका लागि यसको उत्पादन, प्रशोधन, बिक्री वितरणसँग सम्बन्धित विषयमा कानूनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
