गृह मन्त्रालय सुधारको खाका बनाउन गठित अध्ययन समितिले बुझायो प्रतिवेदन

पूर्वमुख्यसचिव लीलामणि पौडेल नेतृत्वको समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकास र संगठन तथा व्यवस्थापनका विषय समेटेर प्रतिवेदन पेश गरेको छ।

काठमाडौँ– पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा ‘गृह मन्त्रालयअन्तर्गतका निकायका सेवालाई प्रभावकारी बनाउन’ गठित सुझाव समितिले शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष प्रतिवेदन पेश गरेको छ। मन्त्रालयअन्तर्गतका निकायका सेवालाई प्रभावकारी बनाउन सुझावसहितको प्रतिवेदन तयार पार्न गत कात्तिकमा अध्ययन समिति गठन भएको थियो।

उक्त अध्ययन समिति तथा विषयगत उपसमितिलाई प्राप्त कार्यादेशअनुरूप विद्यमान समस्याको पहिचान गरी मन्त्रालयको कार्यसम्पादन क्षमता बढाउन तथा मन्त्रालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनका लागि सुझाव दिन समिति बनाइएको थियो।

समितिलाई शान्ति सुव्यवस्था, अपराध अनुसन्धान, संस्थागत पुनर्संरचना, कर्मचारीको कार्य क्षमता वृद्धि, कार्य सम्पादन मापन, नीतिगत तथा कानुनी सुधार, मन्त्रालयअन्तर्गतका निकायहरूको संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा सुधार, विपद् व्यवस्थापन, राष्ट्रिय परिचयपत्र व्यवस्थापन, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण लगायतका विषय समावेश गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो।

सोही कार्यादेशबमोजिम समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकास र संगठन तथा व्यवस्थापनका विषय समावेश गरिएको यस प्रतिवेदनमा तत्काल र दीर्घकालमा लागू गर्न सकिने कार्य योजना पनि प्रस्तुत गरिएको जनाइएको छ।

प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनका आधारमा गृह प्रशासन सुधारको मार्गचित्र तयार गरिने र सोबमोजिम सुधारका कार्यहरू अघि बढाइने बताए। उनले प्रतिवेदन कार्यान्वयनका क्रममा प्रतिवेदन तयारकर्ता विज्ञहरूको निरन्तर सहयोग आवश्यक हुने र मन्त्रालयलाई आवश्यक परेका बखत विज्ञहरूबाट मन्त्रालयले निरन्तर सहयोग प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे।