मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त

तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त भएका नरेन्द्र मोदीको शपथ समारोह आगामी आइतबार हुने तय भएको छ।

तस्वीर : मनी शर्मा/एएफपी

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी पुनः नियुक्त भएका छन्। हालै सम्पन्न १८औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि मोदीलाई नै दलको नेता चयन गरिएको थियो। 

एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी पेश गरेका थिए। उनले शुक्रबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठनका लागि दाबी पेश गरेपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने छन्। उनको शपथ ग्रहण समारोह आगामी आइतबार हुने तय भएको छ। यसअघि शुक्रबार पुरानो संसद् भवनको सेन्ट्रल हलमा मोदीलाई एनडीएको नेता चयन गरिएको थियो।

एनडीए गठबन्धनको २९३ मध्ये भाजपा एक्लैको २४० सिट छ। २०१४ र २०१९ मा भाजपाकै बहुमत हुँदा एनडीए गठबन्धनलाई मोदीले वास्ता गरेका थिएनन्। यसपटक भने आफ्नो कार्यकाल जोगाउनका लागि उनीमा एनडीएमा आबद्ध दलहरूलाई विश्वासमा लिइराख्नु पर्ने चुनौती भने थपिएको छ। 

आइतबार हुने मोदीको शपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आतिथ्य ग्रहण गर्न जाने तय भएको छ। शपथग्रहणपछि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने छन्।