गोसाईंकुण्डमा शुरू भयो १० दिने मेला

चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि शुक्रबारसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

तस्वीर: किसन पाण्डे/उकालो।

रसुवा– रसुवामा गोसाईंकुण्ड मेला शुरू भएको छ। गंगा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाईंकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन्।

गोसाईंकुण्डमा स्नान र पूजा आराधना गर्नाले  मनोकांक्षा पूरा हुने जनविश्वास छ। चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए। 

तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उनले आग्रह गरे। 

तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी संघ रसुवाका अध्यक्ष निसान गजुरेलको भनाइ छ। काठमाडौँबाट धुन्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक भएर गोसाईंकुण्ड पुग्न सकिन्छ। 

धार्मिक यात्रा गर्दा लठ्ठीका नाममा वनस्पति नकाट्न, चाउचाउ तथा बिस्कुटलगायत खाद्य सामग्री उपभोग गर्दा उत्पन्न प्लास्टिकसमेतका फोहोर सुरक्षित तवरले तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने वन्यजन्तुलाई तर्साउने हिर्काउने कार्य नगर्न यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जनाए। 

गोसाईंकुण्ड मेला असार २ गतेसम्म चल्ने गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।