नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी परेसँगै विद्यार्थी झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ।
लमजुङ– पानी पर्दा कक्षाकोठा भित्रै पानी छिर्ने जीर्ण विद्यालय भवनमा विद्यार्थी पढ्न बाध्य हुँदै आएका छन्। सदरमुकाम रहेको बेँसीसहर नगरपालिका–१ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका विद्यार्थी जीर्ण भवन पढ्न बाध्य भएका हुन्। उनीहरू पानी पर्दा कक्षाकोठा भित्रै पस्ने विद्यालय भवनमा केही वर्षदेखि पढ्न बाध्य हुँदै आएका हुन्।
विद्यालयका प्रधानाध्यापक सीमा लोहनीले पुरानो भवन जीर्ण र पानी चुहिने भएको भएको बताइन्। पानी परेका बेलामा नयाँ भवनको कक्षाकोठाभित्रै ठूलो पानी छिर्ने गर्छ। जसले गर्दा पानी परेका बेलामा पठनपाठन प्रभावित हुँदै आएको उनको भनाइ छ।
उनका अनुसार विसंं २०४८ मा स्थापना भएको यस विद्यालयमा चारकोठे पुरानो भवन र विसंं. २०७४ मा निर्माण गरिएको दुईकोठे भवन रहेको छ। पुरानो भवनको गारो चिराचिरा परेर खस्ने अवस्थामा रहेको छ। कुनै गारो बेला खस्छ भन्ने त्रासबीच पढाउनुपर्दा विद्यार्थी, शिक्षकलाई समस्या भइरहेको उनले बताइन्।
विद्यालयमा जस्तापाताको छानो रहेको छ। छानोका लागि राखिएका काठ कुहिन थालेको छ। नयाँ भवनको छानो मिलाएर नहालेकाले पानी परेको बेलामा कक्षाकोठा भित्रै पानी छिर्ने गरेको उनको भनाइ छ।
“पानी परेपछि सबै विद्यार्थीलाई दुईकोठे नयाँ भवनमा रहेको शिक्षकको कार्यालयमै ल्याएर राख्ने गरेका छौँ, नयाँ भवनका कोठामा पनि पानी छिर्ने गरे पनि अन्य कोठाको तुलनामा कम पानी आउने गरेकाले शिक्षक विद्यार्थी एकै ठाउँमा बस्ने गरेका छौँ”, उनले भनिन्।
पुरानो भवनको निर्माण र नयाँ भवनको छानो फेर्नका लागि वडा कार्यालय, पालिकाको शिक्षा शाखादेखि प्रदेश सरकारसँग केही वर्षअघिदेखि नै माग गरे उनले जनाइन्। ती निकायबाट माग सुनुवाइ नहुँदा विद्यार्थीले यस्तो समस्याको सामना विगत तीन वर्षदेखि गर्न बाध्य हुँदै आएको गुनासो विद्यालय प्रधानाध्यापक लोहनीले गरिन्।
विद्यालयमा गत वर्ष २२ जना रहे पनि यस वर्ष १५ मात्र विद्यार्थी रहेका छन्। नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने गर्छ। विद्यालयमा पानी परेपछि विद्यार्थी कापीकलम झोलामा राखेर झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ। ठूलो पानी परेका बेला आफूहरू पानीले रुझे पनि झोला जोगाउने कोशिश गर्दागर्दै झोलासँगै किताब पनि भिज्ने गरेको विद्यार्थीको भनाइ छ। नयाँ भवनमा ३ कक्षाको पढाइ हुने गरेको छ। पुरानो भवनमा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीले अध्ययन गर्दै आएका छन्।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव किसानराज चिलुवालले उक्त विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत माग गरे पनि उक्त कार्यक्रमका लागि बजेट नै नआएकाले सहयोग गर्न नसकिएको बताए। विद्यालय मर्मत तथा निर्माणका लागि शिक्षा शाखासँग बजेट नहुने उनको भनाइ छ।
वडा अध्यक्ष दुर्गाबहादुर बुढाथोकीले विद्यालयमा पानी चुहिने र जीर्ण भवनमा पठनपाठन गर्न जोखिम रहेको भए पनि तत्काललाई आर्थिक अभावले सो समस्या हटाउन नसकिने बताए। विद्यालयबाट उक्त जानकारी केही दिनअघि मात्र वडालाई आएको र सोअघि कुनै जानकारी नआएकाले अहिले आर्थिक वर्षको अन्तिम बेलामा बजेट नहुने उनको भनाइ छ।
उक्त खबर पाउनासाथ वडाबाट प्राविधिक पठाएर हाललाई नयाँ भवनको एक कोठाका लागि छानो छाउनका लागि लागत अनुमान तयार गरेर र सम्झौता गरेर केही दिनमा काम अघि बढ्ने वडा अध्यक्ष बुढाथोकीको भनाइ छ। उनले पुरानो जीर्ण भवन भने तत्काल केही गर्न नसकिने र आगामी दिनमा विद्यालय भत्काउने तथा कसरी अघि बढ्ने भनेर छलफल गरेर अघि बढ्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
